सुर्खेत । सुन्दर कर्णाली संस्थाको आयोजनामा तथा वुमन फोरम निकुञ्ज अष्ट्रेलियाको आर्थिक सहयोगमा गुर्भाकोट नगरपालिका–११, मेहेलकुना अस्पतालमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा ३० वर्षमाथिका महिलाको पाठेघर मुखको क्यान्सर, अङ्ग खस्ने समस्या लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । कुल २५५ महिलाले सेवा लिएका मध्ये २० जनामा समस्या देखिएको र जटिल अवस्थामा रहेका केहीलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको सुन्दर कर्णाली संस्थाकी अध्यक्ष निर्मला अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ जना महिलामा रिङ पेसरी राखिएको, अन्यलाई निःशुल्क औषधि वितरण र चिकित्सक परामर्श सेवा प्रदान गरिएको थियो ।
शिविरको उद्घाटन गुर्भाकोट नगरप्रमुख हस्त पुनले गर्नुभयो । कार्यक्रममा प्रदेश अस्पतालका पूर्व मेसु प्रा। डा। डम्बर खड्का, उपप्रमुख, मेहेलकुना अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायतको सहभागिता थियो ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख पुनले यस्ता स्वास्थ्य कार्यक्रम गाउँघरमै आइपुग्नु उत्साहजनक भएको बताउँदै महिलामाझ स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, डा। खड्काले महिलामाझ पाठेघरसम्बन्धी समस्या सामान्य भए पनि लाज, डर र सामाजिक कारणले नियमित परीक्षण नगर्दा जटिल बन्ने भएकाले यस्ता शिविर आवश्यक रहेको धारणा राख्नुभयो ।
अध्यक्ष अधिकारीले एकदिने शिविरमा २ सयभन्दा बढी महिलाको सहभागिता सकारात्मक रहेको बताउँदै आगामी दिनमा अझै व्यापक रुपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको नारी निकुञ्ज अष्ट्रेलियाले विगतदेखि नै नेपालका दुर्गम भेगमा महिलामुखी स्वास्थ्य सेवा पुर्याउँदै आएको छ । शनिबार सम्पन्न शिविर पनि सोही निकुञ्जसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।











नेपालीरैबार । २०८२ भाद्र १५, आईतवार