कर्णालीमा स्टार्टअप कर्जा सम्बन्धी प्रादेशिक कार्यशाला सम्पन्न

सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशको आयोजनामा “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रम अन्तरगत सुर्खेतको वीरेन्द्रनगरमा स्टार्टअप कर्जा सम्बन्धी प्रादेशिक कार्यशाला सम्पन्न भएको छ ।

महासंघका उपाध्यक्ष हर्ष विक्रम खड्काको अध्यक्षतामा सम्पन्न कार्यशालामा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंका सदस्य तथा स्टार्टअप इन्नोभेसन फोरमकी संयोजक जुना माथेमा र आई.ई.डि.आईका कार्यकारी निर्देशक उमेश गुप्ता विशेष अतिथि रहनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खड्काले स्टार्टअप कर्जा वितरण प्रक्रियालाई सहज, पारदर्शी र सबैको पहुँचमा पुग्ने गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले ल्याएको नीति सकारात्मक भए पनि व्यवहारमा अझै सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले स्टार्टअप प्रवर्द्धनमा सरकारले गम्भीर प्रतिबद्धता जनाएको उल्लेख गर्दै कर्णालीमा नयाँ व्यवसाय र नवप्रवर्तनलाई अघि बढाउन सरकारले आवश्यक लगानी गर्ने बताउनुभयो । उहाँले उद्योगी–व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो ।

विशेष अतिथि माथेमा र गुप्ताले स्टार्टअप कर्जा कार्यक्रमको उद्देश्य, पात्रता, आवेदन प्रक्रिया र आवश्यक कागजातबारे विस्तृत जानकारी दिनुभयो । उहाँहरूले स्टार्टअप व्यवसायलाई बैंकिङ पहुँचमा लैजाने र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा महिला उद्यमी, युवा व्यवसायी, विभिन्न क्षेत्रका सरोकारवाला, उद्योगी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले उद्यमशीलता विकास, वित्तीय पहुँच र व्यवसायिक परामर्शसम्बन्धी जिज्ञासा राखेका थिए ।

सहभागीहरूले यस कार्यशालामार्फत स्टार्टअप कर्जा कार्यक्रमलाई प्रदेशस्तरमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

तपाईको प्रतिक्रिया