पूर्वाधारमा अगाडि बढेको वीरेन्द्रनगर, फोहोर व्यवस्थापनमा भने पछि

प्रदेश राजधानीको स्वरूप पाएको नगरमा सरसफाइ र ट्राफिक अव्यवस्थाले नागरिक हैरान

सुर्खेत । कर्णाली प्रदेशको राजधानी तथा कर्णालीको सबैभन्दा ठूलो नगरपालिका वीरेन्द्रनगर अब उपमहानगरपालिका बन्ने तयारीमा रहेको छ । नगरपालिकाले आवश्यक कागजी प्रक्रिया पूरा गरी उपमहानगरका लागि मन्त्रालयमा फाइल पठाइसकेको भए पनि घोषणा कहिले हुन्छ भन्ने विषयमा भने कुनै टुङ्गो लागेको छैन । उपमहानगरका लागि आवश्यक जनसंख्या, राजस्व संकलन र सेवा–सुविधा जस्ता आधारमा वीरेन्द्रनगर सहजै योग्य भए पनि फोहोर व्यवस्थापन जस्तो आधारभूत क्षेत्रमा अझै अपुरोपन देखिएको छ ।

प्रदेश राजधानी घोषित भएपछि वीरेन्द्रनगर नगरको स्वरूप गत पाँच–छ वर्षयता कायापलट भएको छ । शिक्षा, स्वास्थ्य, व्यापार र प्रशासनिक संरचना सबै वीरेन्द्रनगरमै केन्द्रित भएकाले अहिले यो कर्णालीको प्रमुख हब बनेको छ । यहाँ कर्णाली प्रदेशबाट सबै जिल्लाका नागरिक बसोबास गर्ने गरेका छन् । प्रदेश बाहिरबाट पनि कर्णाली घुम्न आउने पर्यटक धेरै नै हुन्छन् । अस्पताल, क्याम्पस, निजी तथा सरकारी विद्यालय, कार्यालय, व्यावसायिक प्रतिष्ठानलगायतका सुविधा अरू नगरभन्दा निकै मजबुत देखिन्छन् । राजस्व संकलन पनि प्रदेशकै सबैभन्दा बढी हुने वीरेन्द्रनगर पूर्वाधार र भौतिक संरचनाका हिसाबले उपमहानगर बन्ने योग्यतामा पुगिसकेको छ ।

प्रदेश सरकारले सडक विस्तारमा उल्लेख्य योगदान गरेको छ । मंगलगढीदेखि मुख्य बजार वीरेन्द्रचौक हुदै गणेशचोक, गणेशचोकदेखि भानुपार्क, वीरेन्द्रचोकदेखि भानुपार्कसम्म, नेताचौकदेखी,आँखा अस्पतालसम्म, मंगलगढीदेखि बसपार्क हुदै क्याम्पसरोड,दैलेखी चौकदेखीसम्म लगाएत पछिल्लो समय नगरमा बनेका अधिकांस सडकहरु कालुन्चौक र सरकारी अफिसलाईनका सबै सडक आधुनिक रुपले निर्माण भएका छन् । जुन प्रदेश सरकाले निमार्ण गरेको हो । यता वीरेन्द्रनगर नगरपालिकाले पनि नगरका वडास्तरका सडकमा सडक विस्तार र कालोपत्रे गरिरहेको छ । यस्तै प्रदेश सरकारले पनि वीरेन्द्रनगरका धेरै स्थानहरुमा सडक कालोपत्रे सकेको छ भने केही क्षेत्रमा समेत ग्राबिलसम्मको काम गरिरहेको छ ।

अझै केही भित्री सडक भने कालोपत्रे हुन बाँकी रहेका छन् । प्रदेश सरकाले पूर्वाधार तर्फ वीरेन्द्रनगरलाई ठुलो फाईदा गरेको छ । तर, पूर्वाधारका यी सफलतामाझ वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनतर्फ भने आवश्यक ध्यान दिन नसकेको स्थानीयवासीहरुकले गुनासो गर्छन् । बजार क्षेत्रमा सडक कालोपत्रे भए पनि उचित नाला नभएकाले सामान्य पानीमै सडक डुबानमा पर्ने गरेकोे छ । रत्न राजमार्ग अन्तर्गतका सडकमा समेत पानी निकास नहुँदा प्रत्येक वर्ष बर्खायाममा डुबान हुने समस्या दोहोरिँदै आएको छ । स्थानीय सरकारको स्तरबाट फोहोर व्यवस्थापनमा चासो देखिए पनि कार्यान्वयनमा खासै प्रगति हुन सकेको छैन । पानि निकासका विषयमा नगरले सडक डिभिजनलाई देखाएर पन्छीएको छ ।

हाल नगरपालिकाले दैनिक रूपमा फोहोर संकलन गरी वीरेन्द्रनगर र बराहताल गाउँपालिकामा पर्ने तारेभिरमा फोहोर विसर्जन गर्ने गरेको छ । तर सो व्यवस्थाले मात्रै सफा सहर बनाउने लक्ष्य पूरा गर्न सकेको छैन । सडकका छेउछाउहरुमा फोहोर थुप्रिने, नाला पुरिने, दुर्गन्ध फैलिने र स्वास्थ्यमा असर गर्ने समस्या अझै कायम छ । ‘माथि ड्रोनबाट हेर्दा विकास भएको देखिन्छ, सडक राम्रा देखीन्छन् तर सडकमा हिँड्दा दुर्गन्ध र फोहोर मात्र देखिन्छ’ भन्ने स्थानीयको भनाइ वीरेन्द्रनगरको वास्तविकता बताइदिन्छ ।

यस्तै, ट्राफिक व्यवस्थापन पनि अझै अस्तव्यस्त छ । राजधानीको स्वरूप पाएको नगरमा सवारी आवागमन सहज बनाउनुपर्ने भए पनि जथाभावी पार्किङ र सडकमा भिडभाड हुने समस्या समाधान भएको छैन । वीरेन्द्रचौकमा भर्खरै ट्राफिक लाईट सञ्चालनमा आएको छ, तर अन्य क्षेत्रमा भने ट्राफिक लाईटहरु जडान भएका छैनन् । वीरेन्द्रनगरलाई उपमहानगर घोषणा गर्ने तयारीसँगै नागरिकले बढी अपेक्षा गरेको विषय भनेको सफा सहर हो । भौतिक पूर्वाधार र भवनले मात्र उपमहानगरको पहिचान नबढाउने भएकाले फोहोर व्यवस्थापन र नालाको सुधारलाई नगरले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिन्छ ।

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा सडक र पूर्वाधार विस्तार गरेर राजधानीलाई आधुनिक स्वरूप दिन योगदान गरेको छ । तर, प्रदेश राजधानी मात्र नभई उपमहानगर बन्ने संघारमा पुगेको नगरले फोहोर व्यवस्थापन र ट्राफिक जस्ता आधारभूत क्षेत्रमा सुधार नगरेसम्म नागरिकको मन जित्न नसक्ने प्रष्ट छ । शहरको सौन्दर्य फोहोरमै लुकेको छ भन्ने बुझेर नगर सरकारले यसतर्फ ठोस पहल गर्न सके वीरेन्द्रनगर उपमहानगर मात्र होइन, कर्णालीकै अनुकरणीय सफा सहर बन्न सक्नेछ ।

तपाईको प्रतिक्रिया