दैलेखमा पेट्रोलियम भण्डारण, ५० वर्षसम्म ग्यास आवश्यकतामा आत्मनिर्भर हुने सम्भावना

दैलेख । भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरिएको पेट्रोलियम अन्वेषणबाट ठूलो परिमाणमा प्राकृतिक ग्यास भण्डारण रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभाग र चीनको जियोलोजिकल सर्भे कम्पनीले गरेको प्रारम्भिक परीक्षणअनुसार चारवटा सम्भावित कुवामध्ये पहिलो कुवामा मात्रै १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भेटिएको हो । बाँकी तीन कुवासहित कुल ४ सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको आवश्यकतालाई धान्न सक्ने बताइएको छ ।

भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार विस्तृत प्रतिवेदन २०२५ डिसेम्बरसम्म आउनेछ । त्यसपछि मात्रै उत्खनन र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्नेछ । सरकारका तर्फबाट नेपाल आयल निगमको संयोजकत्वमा चार सदस्यीय समिति गठन भइसकेको छ, जसले ग्यासको सदुपयोग, पूर्वाधार र लागतसम्बन्धी अध्ययन गरिरहेको छ ।

यो परियोजना चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको नमुना (पाइलट) परियोजना हो, जसको प्रारम्भिक लागत करिब रु २ अर्ब ५० करोड अनुमान गरिएको थियो । परियोजना सफल भएमा रोजगारी सिर्जना, उद्योगमैत्री वातावरण र स्वदेशी ऊर्जा सुरक्षामा ऐतिहासिक फड्को मारिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया