जेन–जी आन्दोलन : सुर्खेतमा पार्टी कार्यालयदेखि सरकारी अड्डासम्म ध्वस्त (तस्वीरमा)

सुर्खेत । भ्रष्टाचारको छानबिन, पारदर्शी शासन र सामाजिक सञ्जाल खोल्नुपर्ने मागसहित सुरु भएको जेन–जी आन्दोलन मंगलबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा उग्ररूप लिँदा शहर पूरै हिंसात्मक गतिविधिमा डुबेको छ । बिहान शान्तिपूर्ण जुलुसबाट सुरु भएको आन्दोलन साँझसम्म पुग्दा पार्टी कार्यालय, सरकारी अड्डा, नेताका निजी घरदेखि पेट्रोल पम्प र वडा कार्यालयसम्म ध्वस्त भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले मंगलबार बिहानै प्रदेश सभा अगाडि शान्तिपूर्ण जुलुस निकालेका थिए । केही समयसम्म बजार सामान्य रहे पनि करिब १० बजेतिर मंगलगढी चोकमा ठूलो भीड जम्मा भएपछि आन्दोलन हिंसात्मक मोडमा प्रवेश ग¥यो ।

सुरुवाती विरोधमा प्रदर्शनकारीहरूले नेताहरूका पुत्ला दाहसंस्कार गरे, नारा जुलुस गरे । तर भीड बढ्दै जाँदा उनीहरूले वीरेन्द्रनगरको मुख्य बजार हुँदै वीरेन्द्रचोक, पिपल चौतारा, भानुपार्क, आँखा अस्पताल र घण्टाघर चोकतर्फ परिक्रमा गरेपछि परिस्थितिले उग्ररूप लियो ।

प्रदर्शनकारीहरुको सबैभन्दा पहिला नेकपा एमालेको हटियालाइनस्थित पार्टी कार्यालय निशानामा पर्यो । सुरक्षाकर्मीको रोकथाम अटेरी गर्दै प्रदर्शनकारीहरूले कार्यालय तोडफोड गरी सम्पूर्ण कागजात, फर्निचर र भवनसमेत जलाए । त्यसपछि कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा पनि यस्तै घटना दोहोरियो । यी तीनै दलका कार्यालय पूर्ण रूपमा जलेर नष्ट भए । त्यसपछि राप्रपाको कार्यालयमा समेत तोडफोड र आगजनी भयो ।

सरकारी अड्डा ध्वस्त

पार्टी कार्यालयपछि प्रदर्शनकारीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ लागे । तर त्यहाँ सुरक्षा बलले रोक्दा उनीहरूले नापी कार्यालय र प्रदेश लेखा नियन्त्रण कार्यालयमा आक्रमण गरे । दुबै कार्यालय पूर्णरूपमा जलेर नष्ट हुँदा सुर्खेतका नक्सा, सरकारी अभिलेख र वित्तीय कारोबारसम्बन्धी महत्वपूर्ण कागजात खाक बने ।
नगरपालिकाको बाहिरी संरचना तोडफोड गरियो भने प्रदेश सभा भवनसमेत जलेर ध्वस्त भयो । साँझसम्म प्रदर्शनकारीहरूले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरू—१, २, ३, ६, ८, १० र ११—मा समेत आगजनी र तोडफोड गरे ।

नेताका निजी घरमा आक्रमण

प्रदर्शनकारीहरूको क्रोध नेताहरूका घरमा पनि केन्द्रित भयो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा आक्रमण हुँदा एक जनाको मृत्यु भयो । त्यसपछी खड्काको घर, उनका भाइ डम्बरबहादुर खड्काको घर, मुख्यमन्त्री निवास, नगरप्रमुख मोहनमाया ढकालको घर र उपप्रमुख नीलकण्ठ खनालको घर पूर्णरूपमा जलेर नष्ट भए । भने केही घरमा तोडफोड समेत भयो । यति मात्र होइन, रात पर्नासाथ प्रदर्शनकारीहरूले कांग्रेस नेता विष्णु खड्काको माया आयल स्टोर पेट्रोल पम्पसमेत ध्वस्त बनाए ।

क्षति अझै अज्ञात

पार्टी कार्यालयदेखि सरकारी अड्डा, नेताका निवासदेखि निजी व्यवसायसम्म जलेर नष्ट हुँदा कति आर्थिक क्षति भयो, भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन । नापी र लेखा नियन्त्रण कार्यालयमा रहेका संवेदनशील कागजात जलेर गएकोले प्रदेश प्रशासनिक रूपमा ठूलो संकटमा परेको छ ।

यी घटनाले प्रदेशको शासन व्यवस्थामा गहिरो असर पार्ने देखिन्छ । राजनीतिक रूपमा, ठूला दलहरूको संरचना ध्वस्त भएपछि स्थानीय राजनीतिक गतिविधि अवरुद्ध हुने अनुमान छ । प्रशासनिक रूपमा, नापी र लेखा नियन्त्रण कार्यालयका अभिलेख नष्ट भएपछि भूमिसम्बन्धी कारोबार, वित्तीय अभिलेख र सार्वजनिक सेवा प्रवाह महिनौँ प्रभावित हुने देखिन्छ ।

सामाजिक रूपमा, नेताका घर जलेर नष्ट हुँदा राजनीतिक द्वन्द्व अझ चर्किने, स्थानीय समाजमा भयको वातावरण सिर्जना हुने निश्चित छ । आर्थिक रूपमा, पेट्रोल पम्पदेखि कार्यालयका कागजात, भवनसमेत जलेर गएकोले अर्वौको क्षति भएको अनुमान छ । बुधबार बिहानसम्म भने वीरेन्द्रनगरको जनजीवन सामान्य बन्दै गएको छ । सडकमा सेना परिचालन गरिएको छ ।

तस्वीरमा हेर्नुहोस ।

 

तपाईको प्रतिक्रिया