खाद्य कार्यालय बन्द हुँदा सर्वसाधारणलाई सास्ती

मुगु । जेनजी आन्दोलनको प्रभावले मुगुमा पनि सरकारी तथा गैर–सरकारी कार्यालयहरु बन्द भएका छन् । मंगलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला कार्यालय बन्द हुँदा सर्वसाधारणलाई सास्ती भएको छ।

छायानाथ रारा नगरपालिका–१२ का स्थानीय रामबहादुर बुढाले भदौ २६ गते ससुराको काजकिरियाका लागि चामल लिन सदरमुकाम पुगे पनि कार्यालय बन्द भएपछि खाली हात फर्किनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँदेखि सदरमुकाम आउन चार घण्टा पैदल यात्रा गर्नुपर्छ । चामल र तेल सस्तोमा पाइने भएकाले हामीजस्ता सर्वसाधारणलाई खाद्य कम्पनी नै पहिलो प्राथमिकतामा पर्छ, तर बन्द हुँदा ठूलो समस्या भएको छ।”

खाद्य कम्पनी मुगुका कार्यालय प्रमुख केशव गिरीका अनुसार आन्दोलनका कारण केन्द्रीय कार्यालयको निर्देशनअनुसार मंगलबारदेखि शुक्रबारसम्म कार्यालय बन्द गरिएको हो । “भदौ २९ गतेदेखि कार्यालय नियमित सञ्चालनमा आउनेछ,” उहाँले जानकारी दिनुभयो ।

यसैबीच आन्दोलनका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यालयमा तोडफोड भए पनि अन्य सरकारी वा निजी संरचनामा क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लामा कर्फ्यु जारी भए पनि सदरमुकाम आवतजावत सहज रहेको स्थानीय खम्मलाल बोहराले बताए। छायानाथ रारा नगरपालिकाभित्र भदौ २४ गते बाहेक अन्य दिन नियमित पढाइ भएको र बिहीबारदेखि पसल व्यवसाय पनि खुल्न थालेको जनाइएको छ।

तपाईको प्रतिक्रिया