गुर्भाकोटबाट बाहिरियो पहुँच तथा समावेशीकरण परियोजना, आइएनएफको उच्च प्रशंसा

सुर्खेत । गुर्भाकोट नगरपालिकामा अपाङ्गताको क्षेत्रमा तीन वर्षदेखि सञ्चालनमा रहेको “पहुँच तथा समावेशीकरण परियोजना” औपचारिक रूपमा समापन भएको छ। गुर्भाकोट नगरपालिका र आइएनएफ नेपाल–साइनिङ अस्पताल सुर्खेतको सहकार्यमा सञ्चालित परियोजना २०७९ साउन १ गते सुरु भई २०८२ भदौ मसान्तमा सम्पन्न भएको हो ।

पञ्चपुरी, गुर्भाकोट, सिम्ता र वीरेन्द्रनगरलाई कार्यक्षेत्र बनाई सञ्चालन गरिएको परियोजना समापन कार्यक्रममा नगर प्रमुख हस्त पुन, उपप्रमुख मैना बिक, वडाध्यक्षहरू, शाखा प्रमुख, अपाङ्ग एकता समाजका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता उपप्रमुख बिकले गर्नुभएको थियो भने प्रमुख आतिथ्य नगर प्रमुख पुन रहनुभयो।

कार्यक्रममा बोल्दै आइएनएफ सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक लालित बहादुर सारुले गुर्भाकोट नगरपालिकाको सहकार्यमा अपाङ्गता क्षेत्रमा काम गर्ने अवसर पाउनु खुशीको कुरा भएको उल्लेख गर्दै, आगामी दिनमा पनि अवसर मिले निरन्तर काम गर्न इच्छुक रहेको बताउनुभयो।

गुर्भाकोटका टिम लिडर जोलबहादुर बुढाले नगरपालिकामा अपाङ्गता क्षेत्रमा गरिएको काम अन्य पालिकाभन्दा उल्लेखनीय भएको धारणा राखे। स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्तिले परियोजनाले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो भने वडा नं। १३ का वडाध्यक्ष मधु गुरुङले परियोजना सकिए पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

सामाजिक विकास समितिका संयोजक वासुदेव शर्माले परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा नयाँ अनुभूति ल्याएको उल्लेख गर्दै आगामी दिनमा यस कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हस्त पुनले परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो। उपप्रमुख मैना बिकले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो। कार्यक्रममा चालु आर्थिक वर्षमा अपाङ्गता क्षेत्रमा काम गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि दिइयो।

आइएनएफ नेपाल साइनिङ अस्पताल पहुँच तथा समावेशीकरण परियोजना सुर्खेतका परियोजना अधिकृत लोकप्रसाद गौतमले गुर्भाकोटमा तीन वर्षे परियोजना सकिएपनि नगरपालिकाले बजेट विनियोजन गरेकाले आगामी दिनमा सहकार्यमार्फत पुनः काम थालिने बताउनुभयो। समग्रमा, परियोजनाले गुर्भाकोट नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको सरोकारवालाहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया