सुर्खेतमा सहकारीकर्मीबीच शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया

सुर्खेत । विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड सुर्खेतको आयोजनामा सोमबार वीरेन्द्रनगरमा सहकारीकर्मीबीच शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश कुमार तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक हरिहरनाथ योगी प्रमुख अतिथि रहेका थिए भने विभिन्न सहकारी संघ–संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । वीरेन्द्रनगर भित्रका ६५ वटा सहकारी संस्थाका प्रतिनिधिहरु समेत कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमकाे समापन सत्रमा अध्यक्ष तिमिल्सेनाले सहकारी संस्थाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकारी संघ निरन्तर प्रतिबद्ध रहेको बताए । उनले सहकारी संस्थाहरुको क्षमता विकास, समस्या समाधान तथा नीति पैरवीका लागि सबै सहकारी एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिए । सहकारीसँग सम्बन्धित विद्यमान नीतिहरु सहकारीमैत्री नभएकाले तत्काल संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस्तै, संघका उपाध्यक्ष गोविन्द शर्माले सहकारी अभियानलाई सुदृढ र पारदर्शी बनाउन सहभागी सबैको सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए । सहभागी वक्ताहरुले सुर्खेतको सहकारी अभियानलाई स्वच्छ, विश्वासिलो र प्रभावकारी बनाउन सबै सहकारी एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघका व्यवस्थापक ढाकाराम न्यौपानेले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया