सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वीरन्द्रनगरका सबै वडाबाटै तत्काल नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । जेन–जी आन्दोलनका क्रममा ध्वस्त बनेका वीरन्द्रनगर–१२ वटै वडा कार्यालय सञ्चालनमा नआएपछि असोज ५ गतेदेखि जिल्ला समन्वय समितिको हलमार्फत एकीकृत सेवा दिइँदै आएको थियो । तर सामाजिक सञ्जालमा ‘वडाबाटै सेवा दिनुपर्ने’ माग बढेपछि आज स्थलगत अवलोकन गरेका मुख्यमन्त्री कँडेलले सेवाग्राहीलाई असुविधा नहुने गरी वडाबाटै काम सुरु गर्न निर्देशन दिएका हुन् ।
वडा नं. १ देखि १२ सम्मका वडाअध्यक्षहरूसँग छलफल गर्दै मुख्यमन्त्री कँडेलले भने, भवन जलेको भए पनि एक कम्प्युटर राखेर त्यहीँबाट सेवा दिनुपर्छ। भौतिक संरचना नोक्सान भए पनि जनतालाई कुनै बहानामा दुःख दिन मिल्दैन । सबै वडा एकै ठाउँमा राख्दा नागरिकलाई दौडधुप र झन्झट थपिन्छ, त्यसैले छिट्टै वडामै फर्केर सेवा दिनुहोस् ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्त्वपूर्ण इकाइमा ठूलो क्षति पुगेको थियो। सात वटा वडा कार्यालय (वडा नं. २, ३, ४, ५, ६, १० र ११) पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने वडा नं. १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ।
यस्तो परिस्थितिमा समेत जनताले सहज सेवा पाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले “नागरिकको घरआँगनमै सेवा पुर्याउनु हाम्रो प्राथमिकता हो” भन्दै वडाबाटै सेवा सञ्चालन गर्नुपर्ने धारणा स्पष्ट पारे ।











नेपालीरैबार । २०८२ आश्विन ७, मंगलवार