सुर्खेत । खण्डहर बनेको घरको आँगनमा बुधबार बिहान डा. डम्बर खड्का उभिएका थिए । धुलाम्मे ढुंगामाटो र जलेका काठका टुक्राबीच उनले पत्रकारहरूसँग आफ्नो पीडा पोख्दा आँखाभरि आँसु झलझली देखिन्थ्यो । ४१ वर्षको जागिरे जीवनको पसिना एकै दिनमा खरानी बनाइयो, उनले भक्कानिँदै भने, छोरा फर्केपछि उसलाई बेड कहाँ देखाउने ? स्मृति, कागजात, किताब, गहना सबै जलेर सकियो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले वीरेन्द्रनगर–७ इत्रामस्थित उनकाे र उनका भाई विष्णुबहादुर खड्काको घर दुबै पूर्ण रूपमा नष्ट भयाे । कैलाश मानसरोवर दर्शनबाट फर्कंदै गरेका डा. खड्का त्यतिबेला बाटोमै थिए, तर उनका भाई सुर्खेतमै थिए ।
यता भाई विष्णुले सञ्चालन गरेको वीरेन्द्रनगर–१२ एयरपोर्ट चोकस्थित माया आयल स्टोर र सगै रहेको फार्मेसीमा समेत भीडले आगजनी र तोडफोड गर्यो । करोडौं मूल्यको सम्पत्ति धुलो भयाे ।
डा. खड्काले ती खण्डहरबीच उभिँदै विगत सम्झिए । प्रदेश स्थापनाको बेलामा पनि हाम्रो घरमा आक्रमण भएको थियो, उनले स्मरण गरे, म अस्पतालमै बिरामीको उपचार गर्दै थिएँ, तर घरमा गाडी तोडफोड भयो, ९५ वर्षकी आमामाथि समेत हातपात भयो ।
अमेरिकासम्मको भिसा हातमा हुँदाहुँदै पनि उनले आफ्नो जन्मथलो छोडेनन् । काठमाडौं बस्न सकिन्थ्यो, विदेश जान सकिन्थ्यो, तर म यहाँका जनताको लागि बसेँ, सेवामा लागेँ, उनी भन्छन् ।
प्रदेश अस्पतालका पूर्वनिर्देशक समेत रहेका डा. खड्का कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क र सहज स्वास्थ्य सेवा पुर्याउने अभियन्ता हुन् । कोभिड महामारीका दिनहरू सम्झिँदै उनले भने, त्यो समयमा म दिनरात एउटै पोसाकमा, एकदिन पनि बिदा नलिई काममा खटिएँ । त्यो मेरो स्वार्थका लागि थिएन, कर्णालीवासीको जीवन बचाउन थियो ।
तर, यही सेवाभाव बोकेका उनको परिवार आज पीडामा छ । व्यक्तिगत तथा पारिवारिक कागजात, छोराका पदकदेखि लाखौँ मूल्यका किताब, गहना सबै जलेर खरानी भए । आफ्ना दाइ पूर्णबहादुर खड्काले “यदि घुस खाएका छन् भने प्रमाण देखाइयोस्, हामी जेल जान तयार छौँ, उनले भने, तर आधारबिहीन आरोपमा एउटै घरानालाई सजाय दिनु न्याय होइन ।
अब उनीहरूको माग स्पष्ट छ, तत्काल छानबिन र दोषीलाई कारबाही । यदि राज्यले दोष देखायो भने कारबाही होस्, नभए बारम्बार घरमाथि प्रहार गर्ने काम रोकिनुपर्छ, उनले भने, । निजी सम्पत्ति जलेको पीडाले डा. खड्का र उनका परिवार घर बिहिन बनेका छन् ।











नेपालीरैबार । २०८२ आश्विन ८, बुधबार