सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलन शान्तिपूर्ण माग मात्र नभई योजनाबद्ध षड्यन्त्रमा परिणत भएको बताउनुभएको छ । बिहीबार गृहजिल्ला सुर्खेतमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उहाँले आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति, संवैधानिक संस्था र नेताहरूमाथि आक्रमण हुनु निन्दनीय भएको बताउनुभयो ।
उपसभापति खड्काका अनुसार जेन–जीहरूले सुरुमा उठाएका मागहरू सकारात्मक र समर्थनयोग्य थिए । तर भदौ २४ गतेको घटनामा घुसपैठ भएपछि आन्दोलनले हिंसात्मक रूप लिएको उहाँले स्मरण गर्नुभयो । नेपालको इतिहासमै पहिलो पटक चार घण्टाभित्रै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि संगठित हमला भयो,” खड्काले भन्नुभयो, यो सामान्य असन्तोष थिएन, ठूलो ग्रान्ड डिजाइन थियो ।
भ्रष्टाचार अन्त्य,सामाजिक सञ्जाल खुला गर्नुपर्ने र सुशासन कायम गर्नुपर्ने जेन–जी आन्दोलनको प्रारम्भिक उद्देश्यलाई कांग्रेसले समर्थन गरेको भए पनि, पछि देशविरोधी तत्त्वहरूले हिंसा र तोडफोडलाई अघि सारेको उहाँले बताउनुभयो । निजी वा सार्वजनिक सम्पत्तिमा आक्रमण गरी लुटपाट गर्नेहरूलाई उन्मुक्ति दिन मिल्दैन, सरकारले कडा कारबाही गर्नुपर्छ, उहाँले भन्नुभयो, आन्दोलनको आडमा तालिमप्राप्त समूह परिचालन गरेर संवैधानिक निकायहरूलाई लक्षित गरिएको भन्दै देशलाई अस्थिर बनाउने योजनाबद्ध प्रयास भएको आरोप लगाउनुभयो ।
त्यसैगरी, कांग्रेसभित्र चलिरहेको नेतृत्व पुस्तान्तरणको बहसबारे बोल्दै खड्काले आफू नै यस विषयमा सबैभन्दा पहिले आवाज उठाउने नेता भएको दाबी गर्नुभयोे । अहिले महामन्त्री वा अरू कसैले उठाएको होइन, यो मुद्दा म पहिले देखि उठाउँदै आएको हुँ, उहाँले भन्नुभयोे, सभापतिज्यूको स्वास्थ्य पूर्ण रूपमा सुधार भएपछि यसबारे छलफल गरेर निष्कर्ष निकालिन्छ । जेनजी आन्दोलनपछिका घटनाक्रमले कांग्रेसभित्र पुस्तान्तरण र सुधारको बहसलाई अझ चर्को बनाएको उहाँले स्वीकार गर्नुभयो ।











नेपालीरैबार । २०८२ आश्विन ९, बिहीबार