सुर्खेत । दसैँ, तिहार र छठ लगायतका प्रमुख चाडपर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुरक्षा योजना लागू गरेको छ । यस योजना अन्तर्गत जिल्लाभर ८ सय ५० जना प्रहरी जनशक्ति विभिन्न जिम्मेवारीसहित परिचालन गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि, झगडा, चोरी, लुटपाट तथा सवारी दुर्घटना न्यूनीकरण गर्दै आम नागरिकलाई सुरक्षाको अनुभूति गराउने उद्देश्यले योजना ल्याइएको हो ।
योजनाअनुसार, २७ जना प्रहरी कमाण्ड पोष्ट तथा जिल्ला रिजर्भमा रहनेछन् भने ५० जना मोबाइल गस्तीमा खटिनेछन् । मोटरसाइकल गस्ती तथा आकस्मिक कारबाही (स्ट्राइकिङ) का लागि ६४ जना प्रहरी तोकिएका छन् । विभिन्न स्थानमा २ सय ८३ जना प्रहरी पिकेट ड्युटीमा रहनेछन् भने संयुक्त, नियमित तथा आकस्मिक चेकिङका लागि ७१ जना प्रहरी परिचालन हुनेछन् ।
त्यस्तै, सूचना सङ्कलनलाई प्राथमिकता दिँदै ११ जना प्रहरी सादा पोसाकमा खटिनेछन् । यात्रु सहायता कक्षमा २७ जना प्रहरी तैनाथ हुनेछन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, महत्त्वपूर्ण प्रतिष्ठान र बजार क्षेत्रमा गस्ती गर्न १ सय ४४ जना प्रहरी परिचालन गरिनेछ । बजार अनुगमन, आकस्मिक सभा, जुलुस वा धर्ना नियन्त्रणका लागि ५५ जना प्रहरी तत्पर रहनेछन् भने कार्यालय सुरक्षाका लागि ११६ जना प्रहरी छुट्याइएको छ ।
डीएसपी बुढ्थापाका अनुसार, कालोबजारी, म्याद गुज्रेका सामग्रीको बिक्री वितरण नियन्त्रण गर्न बजार अनुगमन टोली परिचालन हुनेछ भने यात्रुहरूलाई सहज बनाउन सहायता कक्ष सक्रिय गरिनेछ । सादा पोसाकका प्रहरीहरूले सूचना सङ्कलन गरी शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्नेछन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा अन्य स्थानभन्दा आपराधिक गतिविधिको जोखिम उच्च हुने भएकाले सुरक्षा योजना विशेष तवरले कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ ।











नेपालीरैबार । २०८२ आश्विन ११, शनिबार