सुर्खेत । दसैँ मनाउन गाउँ फर्किनेको संख्या बढेसँगै कालीकोटका ग्रामीण सडकमा यात्रुहरूको चाप अत्यधिक बढेको छ । सामान्यतया शून्य जस्तै हुने आवतजावत चाडपर्वमा असहज र कष्टकर बन्दै आएको छ ।

रास्कोट जाँदै गरेका पिटर शर्माले दशैँ–तिहारको यात्रा कहिल्यै सहज नहुने अनुभव सुनाउनुभयो । उनी काठमाडौँबाट हेटौँडा हुँदै मोटरसाइकलमा सुर्खेत पुगे पनि सुर्खेतदेखि सार्वजनिक यातायातमा सिट नपाएर ठडिएर नै गाउँ पुग्नुपरेको बताए । १२ घण्टासम्म उभिएर यात्रा गर्दा अत्यन्तै पीडा भयो, शर्माले भने, “हामी जस्ता उमेर भएकाहरुलाई यस्तो छ भने, वृद्धवृद्धा र बालबालिकाको दशैँ यात्रा त झन् यातनापूर्ण हुन्छ भन्ने महसुस गरेको छु ।
यात्रुको भीडका कारण चालकसहित १० सिट क्षमताको गाडीमा २३–२५ जना खचाखच भरिने गरेका छन् । एकजनासँग तीन–तीन बोरासम्मको सामान हुने भएकाले गाडीको हुट र भुइँ भरिन्छ, टायरहरू थिचिएका देखिन्छन्, तर चालकहरूले जोखिम मोलेरै गाउँ पुर्याइरहेका छन् ।
पलाँता जाँदै गरेका रमेश बमले सामाजिक सञ्जालमा लेख्दै आफ्नो अनुभव बाँडेका छन् । “म बसेको गाडीमा २२ जना थियौँ, सामान तीन तहमा बाँधिएको थियो । अलि कोल्टो परेको सडकमा गाडी ढल्ने जस्तो डर लाग्थ्यो, तर सुरक्षित पुग्यौँ, यही नै सान्त्वना हो,” उनले लेखेका छन् ।
जिल्लाका नरहरिनाथ, पलाँता, पचालझरना, सान्नीत्रिवेणी, शुभकालिका लगायतका गाउँपालिका र रास्कोट, तिलागुफा तथा खाँडाचक्र नगरपालिकातर्फ जाने सबै सडक जोखिमपूर्ण छन् । तर पनि दशैँमा गाउँ जाने र तिहारपछि कार्यक्षेत्र फर्किने यात्रुले भीड र कष्ट सहेरै यात्रा गर्न बाध्य छन् ।










नेपालीरैबार । २०८२ आश्विन १३, सोमबार