वडा कार्यालयमै सेवा संचालन गर्न माग

सुर्खेत । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण सेवा अवरुद्ध भएपछि वीरेन्द्रनगर–३ का वडा सदस्य र वडावासीले पुनः आफ्नै वडा कार्यालयबाट सेवा प्रवाह गर्न माग गरेका छन् ।

नगर–उपप्रमुखलाई बुझाइएको ज्ञापनपत्रमा आन्दोलनका क्रममा वडा नं. १ देखि १२ सम्मका वडा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई हाल नगरपालिकाको कार्यालयमार्फत सेवा दिइँदै आएको तर यसले सर्वसाधारणलाई थप सास्ती भएको उल्लेख गरिएको छ ।

जनताको मतको सम्मान गर्दै घरदैलोबाट नै सरल र सहज सेवा प्रवाह गर्ने उद्देश्यका साथ आ–आफ्नो वडा कार्यालयबाट दैनिक प्रशासनिक तथा अन्य सेवा सञ्चालन गर्न तत्काल व्यवस्था मिलाइदिनुपर्छ, ज्ञापनपत्रमा भनिएको छ।

विभिन्न टोल–टोलबाट कार्यालय धाउनुपर्ने अवस्थाले शारीरिक, मानसिक र आर्थिक बोझ परेको गुनासो गर्दै वडावासीहरूले सेवा अविलम्ब पूर्ववत् गर्न माग गरेका छन् । उक्त ज्ञापनपत्रमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया