जुम्ला । यस वर्षको दसैंका अवसरमा जुम्लामा दश करोड रुपैयाँभन्दा बढी मूल्यका खसी र भेडा खरिद–बिक्री भएका छन्। स्थानीय स्तरका साथै बाहिरी जिल्लाबाट ल्याइएका पशुहरूको यो कारोबारले स्थानीय बजारलाई उत्साहपूर्ण बनाएको छ।
चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावलका अनुसार नगरपालिकाभित्र मात्रै नौ करोड ३४ लाख ८८ हजार रुपैयाँ बराबरका भेडा र ३७ लाख ४० हजार रुपैयाँका खसी खरिद–बिक्री भएका छन्। साथै राँगो–भैंसीसमेत २६ लाख ७७ हजार ५ सय रुपैयाँको कारोबार भएको उनले जानकारी दिए। जिल्लाभरमा अन्य करिब २ करोड रुपैयाँ बराबरका भेडा–खसी पनि खरिद–बिक्री भएको अनुमान गरिएको छ।
रावलका अनुसार यस वर्ष चन्दननाथ नगरपालिकामा पाँच हजार आठ सय ४३ वटा भेडा, दुई सय ५६ वटा खसी, राँगो तथा ६३ वटा भैंसी बिक्री भएका छन्। स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार, न्यूनतम ९ हजार र औसत मूल्य १६ हजार रुपैयाँ तोकिएको थियो। खसीको अधिकतम मूल्य २२ हजार, न्यूनतम ८ हजार र औसत १५ हजार रुपैयाँ रहेको उनले बताए । यस्तै राँगो–भैंसीको अधिकतम मूल्य ६१ हजार, न्यूनतम २४ हजार र औसत मूल्य ४२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो।
जुम्लामा कालीकोटलगायतका ठाउँबाट खसी, भेडा र राँगो–भैंसी भित्र्याइएका थिए। गत वर्षको दसैंमा १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबरका पशु खरिद–बिक्री भएका थिए। यस वर्ष कारोबारको मात्रा केही घटे पनि मूल्य सस्तो भएकाले उपभोक्ताले तुलनात्मक राहत पाएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।











नेपालीरैबार । २०८२ आश्विन १९, आईतवार