सुर्खेत । राजनीतिक प्रभावका कारण दुई भागमा विभाजन भएको हिमा गाउँपालिका–५, रूपाकोट आधारभूत विद्यालय पुनः एकीकृत भएको छ। लामो समयसम्म द्वन्द्वका कारण पठनपाठन प्रभावित रहे पनि अब विद्यालय एकै ठाउँमा आएर नियमित रूपमा सञ्चालनमा आएको हो ।
२०७१/७२ सालतिर विद्यालयको व्यवस्थापनलाई लिएर कांग्रेस र कम्युनिस्टबीचको विवाद गहिरिँदा विद्यालय दुई ठाउँमा विभाजन भएको थियो। एउटा विद्यालय बाजागाडमा सञ्चालन भयो भने अर्को चाखाडाँडामा सञ्चालनमा आएको थियो । विवादपछि अभिभावकहरू पनि दुई समूहमा विभाजित भएपछि बालबालिका अलगअलग स्थानमा पढ्न बाध्य भएका थिए ।
तीन जना दरबन्दी शिक्षक, एक जना निजी शिक्षक र एक कार्यालय सहयोगी पनि दुई विद्यालयमा बाडिए । शिक्षकहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म एक विद्यालयमा र दिउँसो १ देखि ४ बजेसम्म अर्को विद्यालयमा पढाउने गरेका थिए ।
स्थानीय सरकार गठन भएपछि पटकपटक छलफल भए पनि समाधान हुन सकेन । २०७६ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले गाउँमै पुगेर विवाद समाधानको प्रयास गर्नुभएको थियो, तर परिणाम आएन। त्यसै वर्ष प्रधानाध्यापक शान्तिकुमारी शाही नियुक्त भएपछि विद्यालय सुधारका लागि भौतिक संरचना निर्माण र पढाइको गुणस्तर सुधारका पहल गर्नुभयो ।
२०७९ सालमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले चाखाडाँडामा एकीकृत रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो। उक्त निर्णयपछि शिक्षक र विद्यार्थी दुवै एकै ठाउँमा पढ्न थालेपछि विद्यालय पुनः एक भएको रावतले जानकारी दिनुभयो ।
यस वर्ष दशैँअघि विद्यालयमा आयोजित अभिभावक भेलामा सबै अभिभावकहरू एकै ठाउँमा भेला भई “अब कहिल्यै विद्यालय जस्तो पवित्र संस्थालाई विभाजन नगरिने” प्रतिबद्धता जनाएका छन् । भेलाले सौरे रोकायाको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति पनि गठन गरेको छ। स्थानीय विकास रोकायाका अनुसार गाउँका बासिन्दाले एकै ठाउँमा खाजा खाई मेलमिलापका साथ विद्यालय एकीकरणको सुरुवात गरेका छन्।











नेपालीरैबार । २०८२ आश्विन २३, बिहीबार