रहेनन् सुर्खेत कांग्रेसका आधारस्तम्भ मल्ल

सुर्खेत । नेपाली कांग्रेसका नेता गोविन्दबहादुर मल्लको ७८ वर्षको उमेरमा निधन भएको छ । वीरेन्द्रनगर–८ सुर्खेतका मल्लको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बिहीबार  निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय मल्लले २०४८ सालमा नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसको एक वर्षपछि, २०४९ मा, उनी तत्कालीन जिल्ला विकास समितिका सभापति बनेका थिए । सो समयदेखि निरन्तर कांग्रेस महाधिवेशनका प्रतिनिधि रहँदै आएका मल्ल पछिल्ला वर्षमा पार्टीको महाधिवेशन समिति सदस्यसमेत थिए ।

राजनीतिक जीवनसँगै शिक्षामा पनि लगाव राख्ने मल्लले बीएडसम्म अध्ययन गरेका थिए । उनले आफ्नो सम्पूर्ण जीवन लोकतान्त्रिक मूल्य, आचरण र समाजसेवामा समर्पित गरेका थिए । पार्टीका नेताहरूका अनुसार, मल्ल नम्र, इमानदार र मिलनसार व्यक्तित्वका रूपमा सबैमा प्रिय थिए ।

नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति कमलराज रेग्मीका अनुसार मल्ल पार्टीभित्र मात्र होइन, जिल्लाभरका बौद्धिक अभिभावकका रूपमा परिचित थिए । रेग्मीले भने, “उहाँले कहिल्यै व्यक्तिगत फाइदाभन्दा समाजसेवालाई प्राथमिकता दिनुभयो, सबैसँग मिलनसार स्वभावका कारण पार्टीभित्र र बाहिर दुवै ठाउँमा सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो ।

त्यस्तै, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले मल्लको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । उनले भने, नेता मल्लको योगदान लोकतान्त्रिक आन्दोलन, संगठन सुदृढीकरण र समाजसेवामा सदैव स्मरणीय रहन्छ । यो पार्टीका लागि अत्यन्त दुःखद घडी हो ।

नेता मल्लका तीन छोरी र एक छोरा छन् । हाल एक छोरी अमेरिकामा छन् भने दुई छोरी र छोरा सुर्खेतमै बसोबास गर्छन् । विगत दुई वर्षअघि उनले जीवनसाथी गुमाएका थिए । नेता मल्लको निधनले नेपाली कांग्रेस मात्र होइन, सुर्खेतको राजनीतिक र सामाजिक जीवनमा पनि ठूलो शून्यता पैदा भएको छ । मल्लको बिहिबार नै सुर्खेत स्थित भेरी नदीमा अन्त्यष्टि गरिएको हो ।

तपाईको प्रतिक्रिया