सुर्खेत । कैलालीको घोडाघोडी नगरपालिका–८ मा गएराति एक युवकको बिबत्स ढंगले हत्या गरिएको छ । २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको र घटनामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुबै जनाले हत्या गरेपछि मृतकको टाउको छुट्याई बोकेर इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार मृतक बुढाको स्थायी घर सुर्खेतको चौकुने गाउँपालिका–३ मा रहेको हो । उनले भने, राति करिब ११ बजेतिर हत्याको सूचना आयो । हत्यामा संलग्न दुई जनाले आफैं टाउको र हतियारसहित प्रहरीमा उपस्थित भएका छन् । घटनास्थलमा प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा जनाएको छ कि मृतक र दुई अभियुक्तबीच स्थानीय खाजा पसलमा मदिरा सेवनका क्रममा विवाद भएको थियो । विवादकै क्रममा उनीहरूले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेर हत्या गरेका हुन् । प्रहरीले भन्यो, मृतक र अभियुक्तहरूबीच पहिले चिनजान थिएन । विवाद अकस्मात् उत्पन्न भएको प्रारम्भिक बुझाइ छ । सुर्खेतबाट मृतकका आफन्त आइरहेका कारण अहिले शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि र कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको छ ।











नेपालीरैबार । २०८२ आश्विन २५, शनिबार