हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष डाँलेचुक लटरम्मै फलेको छ । फुल्ने समयमा असिनापानी र हावाहुरी नलागेकाले डाँलेचुक राम्रो फलेको सिमकोट गाउँपालिका–३, तोर्पाकी छिरिङ लामाले बताइन् । उनका अनुसार गत वर्षभन्दा यस वर्ष अझ बढी फल लागेको छ र अहिले पाक्ने समय नजिकिँदै छ ।
घरायसी प्रयोगका लागि हरेक वर्ष डाँलेचुक सङ्कलन गर्दै आएकी लामाले भनिन्, “यो कसैले लगाउने होइन, आफैं उम्रने बोट हो । यसको फल, पात र बोट सबै उपयोगी छन्, त्यसैले यो बहुउपयोगी बोट मानिन्छ ।
डाँलेचुक राम्ररी फल्दा पनि यसको व्यावसायिक उपयोग भने पर्याप्त हुन नसकेको स्थानीय व्यवसायी गोरासिंह बोहरा बताउँछन् । उनी केही वर्षदेखि डाँलेचुकको जुस उत्पादन गर्दै आएका छन् । उनका अनुसार गाउँकी महिलाहरूले डाँलेचुकबाट अमिलो बनाएर स्थानीय बजारमा बिक्री गरी आम्दानी गर्ने गरेका छन् ।
“यो फलले औषधीय उपयोग पनि गर्छ,बोहराले भने, “पेट दुख्दा, कान दुख्दा वा अनुहार सुन्निएर फुल्दा यसको प्रयोग गर्ने परम्परा छ । डाँलेचुक सामान्यतया कात्तिक महिनामा पाक्ने गर्छ । यसको बोटमा काँडा हुने भएकाले फल टिप्न सजिलो हुँदैन । फल टिप्ने क्रममा किसानहरूले हाँगा काट्ने गरेकाले बोटको नष्ट हुने समस्या देखिएको छ ।
डाँलेचुक २ हजार ५ सय देखि ३ हजार ७ सय मिटर उचाइसम्मका क्षेत्रमा फल्ने गर्छ । हुम्लाका सातै गाउँपालिकामा यसको पाइने गरेको वन विज्ञहरूले बताएका छन् । स्थानीय बासिन्दाले पुस्तौँदेखि डाँलेचुकलाई अमिलोको रूपमा प्रयोग गर्दै आएका छन् भने पछिल्लो समयमा यसको जुस र बिया दुवैको बिक्री सुरु भएको छ । वनस्पति विज्ञहरूका अनुसार, डाँलेचुकको बियाबाट तेल निकाल्न सकिन्छ, जसले क्यान्सरको औषधिमा उपयोग हुने सम्भावना देखिएको छ ।











नेपालीरैबार । २०८२ आश्विन २६, आईतवार