तातो तेल पिउने अनौठो पर्व, धामीले उम्लेको तेल पिएर देखाए ‘सत’

हुम्ला । हिमाली जिल्ला हुम्लामा परम्परागत रूपमा मनाइने तातो तेल पिउने पर्व यस वर्ष पनि विधिवत् रूपमा सम्पन्न भएको छ । दसैँ सकिएर आउने पूर्णिमाको अन्तिम दिन मनाइने यस पर्वमा धामीहरूले आगोमा उमालेको तातो तेल पिई आफ्नो ‘सत’ देखाउने प्रथा रहिआएको छ ।

अदानचुली गाउँपालिका–१ का स्थानीय कालीबहादुर थापाका अनुसार, सो दिन गाउँका सर्की समुदायका धामीहरूले ठूलो कराहीमा उमालेको तेल पिई पर्व सम्पन्न गर्छन् ।  धामीले उम्लेको तेल पिएपछि गाउँमा सुख, शान्ति र समृद्धि आउने विश्वास गरिन्छ, थापाले बताए ।

पर्वका क्रममा कराहीमा उमालिएको करिब पौने लिटर तेल घन्टमा हालेर आगोमा तताइन्छ र त्यसपछि धामीले त्यसै तेल पिउँछन् । यस क्रममा धामीलाई कसैले पनि छोइँदैन, र सम्पूर्ण गाउँले श्रद्धापूर्वक त्यस दृश्य हेर्छन् ।

स्थानीय बासिन्दाका अनुसार, जब गाउँमा अप्ठ्यारो परिस्थिति आउँछ वा रोगरोगान फैलिन्छ, धामीहरूले यसरी तातो तेल पिई ‘सत’ देखाउने गर्छन् । यसले गाउँमा भएका खराब शक्तिहरू टार्ने विश्वास गरिएको छ । यो अनौठो धार्मिक र सांस्कृतिक परम्परा हेर्नका लागि हुम्लाबाहिरका भक्तजन र उत्साही पर्यटकहरू पनि हरेक वर्ष गाउँमा आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया