‘पहाडे राष्ट्रवाद’को निशानामा टासी ल्हान्जोम, कानुनी रूपमा नेपाली नागरिक, तर विवादको केन्द्रमा

सुर्खेत। प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक गर्न लागेको मन्त्रिपरिषद् विस्तारमा कर्णालीकी टासी ल्हान्जोमको नामले राजनीतिक वृतमा ठूलो चर्चा पाएको छ । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६ निवासी टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीका रूपमा नियुक्त गर्न तयारी भइरहेकै बेला उनीमाथि लगाइएका ‘तिब्बती शरणार्थी’का आरोपले नयाँ विवाद निम्त्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले टासीलाई तिब्बती शरणार्थी र विदेशी शक्तिसँग आबद्ध व्यक्तिको रूपमा चित्रित गरेका छन् । उनले टासीलाई भारतको धर्मशालामा तिब्बती शरणार्थी क्याम्पमा अध्ययन गरेकी र अमेरिकी ग्रीनकार्ड प्राप्त गरेकी भन्दै मन्त्री बनाउन नहुने तर्क गरेका छन् ।

यस्तै, जेनजी नामकी कर्णाली संयोजक सुप्रिया शाहीले पनि टासीको नागरिकता छानबिनको माग गर्दै विज्ञप्ति जारी गरेकी छिन् । तर हुम्ला जिल्ला प्रशासन कार्यालयका अभिलेखअनुसार, टासी ल्हान्जोमले २०७४ साल माघ ७ गते वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेकी हुन् । उनका बुबा र आमा दुवै नेपाली नागरिक भएकाले नेपालको नागरिकता ऐनअनुसार उनी वैधानिक नागरिक हुन् भन्नेमा कानुनी रूपमा कुनै विवाद छैन ।

त्रिचन्द्र कलेजका मानवशास्त्री उदय थिङका अनुसार, टासी ‘पहाडे राष्ट्रवाद’को जातीय पूर्वाग्रहको शिकार बनेकी छन् । उनले भने, “पहाडे राष्ट्रवादीहरूले विदेशमा रहेका नेपाली भाषीलाई आफ्नो मान्ने तर देशभित्रका हिमाली र मधेसी समुदायका नागरिकलाई विदेशी ठान्ने प्रवृत्ति देखाएका छन् । अहिले टासी त्यही मानसिकताको निशानामा परेकी छन् ।

समाजशास्त्री राम गुरुङले पनि टासीमाथि लगाइएका आरोपलाई ‘अराजनीतिक र विभेदपूर्ण’ भनेका छन् । उनका अनुसार, नेपालको वैधानिक नागरिकतावाहक जो कोहीले पनि मन्त्री बन्न पाउने अधिकार हुन्छ । उनी कहाँबाट नेपाल प्रवेशिन् भन्ने भन्दा पनि उनको नागरिकता वैध छ कि छैन भन्ने कुरा मुख्य हो, र त्यो कानुनी रूपमा स्पष्ट छ, गुरुङले भने ।

यसैबीच इण्डिजिनियस जेनजी कलेक्टिभ्सले विज्ञप्ति जारी गर्दै टासीमाथि लगाइएका आरोपहरूलाई कपोलकल्पित र जातीय पूर्वाग्रहमाथि आधारित भन्दै खण्डन गरेको छ । विज्ञप्तिमा भनिएको छ, टासी ल्हान्जोममाथि लगाइएका ‘विदेशी, नक्कली नागरिकता लिएकी’ जस्ता आरोपहरू निराधार हुन् । उनी नेपालको सार्वभौमिकता र अखण्डताप्रति प्रतिबद्ध छिन् ।

२६ वर्षीया टासी जलवायु परिवर्तनका विषयमा सक्रिय युवा अभियन्ता हुन् । उनले हिमाली भेगमा जलवायु परिवर्तनका प्रभावमाथि वृत्तचित्र र अभियानमार्फत सचेतना फैलाउँदै आएकी छन् । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारमा टासीसहित रामजी राम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठलाई समावेश गर्ने तयारी गरेकी छन् । टासीको सम्भावित प्रवेशले हिमाली क्षेत्रका युवाहरूमा प्रतिनिधित्वको आशा जगाएको छ भने अर्को पक्षले यसलाई राष्ट्रवादको चस्सोको रूपमा उठाइरहेको छ ।

तपाईको प्रतिक्रिया