मदिरा र परम्परागत बन्धनले संकटमा राउटे समुदाय

सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिका क्षेत्रमा राउटे समुदायको बस्तीमा बाह्य व्यक्तिहरूको अनधिकृत प्रवेश बढ्दै गएपछि समुदायले असुरक्षा महसुस गर्न थालेका छन् । यही असोज २४ गते राति एक स्थानीय युवकले मदिरा सेवन गरी राउटे बस्तीमा पसेपछि राउटे युवाहरूले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार, उक्त युवकमाथि थप अनुसन्धान सुरु गरिएको छ ।

राउटे युवाका अनुसार, पछिल्लो समय बाहिरका मानिसहरू राति रक्सी सेवन गरेर बस्तीमा पसेर हल्ला गर्ने, भिडियो खिच्ने र विभिन्न अवाञ्छित गतिविधि गर्ने क्रम बढ्दै गएको छ । राउटे युवा दीपक शाही भन्छन्, “हिजोमात्र हाम्रो बस्तीमा रक्सी खाएर मान्छे आएर हल्ला गर्‍यो । रातिमा यस्ता मानिस आउँदा हामी डराउँछौं । सुरक्षा चाहिएको छ ।

राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका दुर्गा खत्रीका अनुसार, बस्तीमा प्रहरी सुरक्षा खटाउनुपर्ने अवस्था आएको छ । उनले भनिन्, रातिको समयमा गलत उद्देश्यका मानिसहरू बस्तीमा पसेर भिडियो बनाउने र असुरक्षा सृजना गर्ने क्रम बढेको छ । राउटेहरू अब जोखिममा छन् । खत्रीले भत्ताका रूपमा रकम वितरणले राउटेहरूलाई मदिराको लतमा फसाएको र यसको असर स्वास्थ्यमा पनि परिरहेको बताइन् ।

राउटे बस्तीमा भाइरल ज्वरोको संक्रमण

हालै राउटे समुदायमा भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको छ । स्वास्थ्यकर्मी अनुजा पन्तका अनुसार, पछिल्लो एक हप्तामा २५ जनाभन्दा बढी बिरामी परेका छन् । हामीले प्राथमिक उपचार गरेका छौँ, तर उहाँहरूले डेङ्गु जस्ता रोगको परीक्षण गर्न दिनुहुन्न, पन्तले बताइन् ।

राउटे जनसंख्यामा लगातार गिरावट

राष्ट्रिय मानवअधिकार आयोगको २०८१ सालको प्रतिवेदनअनुसार, राउटे समुदायको जनसंख्या लगातार घट्दै गएको छ । २०७५ सालमा १ सय ४९ रहेको यो समुदायको संख्या २०८१ साल माघसम्म घटेर १ सय ३५ मा झरेको छ । विवाहको परम्परागत प्रतिबन्ध, अत्यधिक मदिरा सेवन, स्वास्थ्य उपचारमा पहुँच नहुनु र पोषणको कमीजस्ता कारणले जनसंख्या घटिरहेको विज्ञहरूको निष्कर्ष छ ।

सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाका अनुसार, एउटै समुदायका केटाकेटीबीच विवाह गर्न नपाइने, श्रीमान्को मृत्यु भएपछि महिलाले पुनर्विवाह गर्न नपाउने परम्पराका कारण युवायुवती विवाहविहीन बस्न बाध्य छन् । अहिले २३ जना एकल महिला छन्, तीमध्ये अधिकांश प्रजनन उमेरका छन्, उनले बताए ।

संरक्षण आवश्यकतामा जोड

राष्ट्रिय मानवअधिकार आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्कीले राउटे समुदायको संरक्षणका लागि तीनै तहका सरकारले विशेष योजना बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार, सरकारले भत्ता त दिएको छ, तर त्यसको सदुपयोग हुन सकेको छैन । मदिरा सेवनका कारण मृत्यु दर बढ्दो छ, स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको छ ।

कर्णाली प्रदेश सरकारले हालै राउटे करिडोर निर्माणसहित संरक्षणका कार्यक्रम अगाडि सारेको छ । विज्ञहरूले भने राउटेहरूको सामाजिक संरचना, परम्परा र बस्ती सुरक्षालाई प्राथमिकतामा राखी दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया