दैलेख । दैलेख प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुई फरक घटनामा उनीहरूलाई पक्राउ गरिएको हो ।
असोज १२ गते साँझ करिब ७ः४० बजे नारायण नगरपालिका–१ स्थित अधिकारी होटल अगाडिबाट नापतौलका क्रममा ३ सय ८० मिलिग्राम शुद्ध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा गुराँस गाउँपालिका–४ का लोकेन्द्र शाही, नारायण नगरपालिका–१ का बलराम थापा र नारायण नगरपालिका–२ का नारायण थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
यस्तै, असोज २५ गते दिउँसो करिब २ः३० बजे नारायण नगरपालिका–१ बसपार्क क्षेत्रबाट प्रहरीले ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित नारायण नगरपालिका–७ किमुगाउँका उदयबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
डीएसपी बरालका अनुसार उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रहरीले पछिल्लो समय दैलेखमा लागुऔषधको कारोबार र सेवनमा संलग्न समूहहरू सक्रिय रहेको जनाउँदै निगरानी र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।











नेपालीरैबार । २०८२ आश्विन २७, सोमबार