जुम्ला । यस वर्ष जुम्लाबाट करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिक्री भएको छ । किसानहरूले गाला, किङरेड, फुजीलगायतका उन्नत जातका स्याउ उत्पादन गरी व्यावसायिक रूपमा बिक्री गरेका हुन् । कृषि विकास कार्यालय जुम्लाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्म करिब ४ हजार ७ सय २५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्लामा पठाइएको छ । अझै ग्रामीण भेगका बगैँचाबाट स्याउ पठाउने काम जारी रहेको छ । कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार आगामी मङ्सिर दोस्रो सातासम्म बिक्री र वितरणको यकिन तथ्याङ्क आउनेछ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा केही कमी हुने अनुमान गरिएको छ ।
जुम्लाका आठ वटै स्थानीय तहमा स्याउ खेती किसानको मुख्य आयस्रोत बन्दै गएको छ । यहाँका २४ हजार ८ सय ३८ घरधुरीमध्ये १९ हजार २ सय ५८ घरधुरी अर्थात् करिब ७०.५ प्रतिशत स्याउ खेतीमा संलग्न छन् । एक परिवारले प्रतिसिजन न्यूनतम ४५ हजारदेखि एक लाख रुपैयाँसम्म स्याउ बिक्रीबाट आम्दानी गर्ने गरेको तिला गाउँपालिका–१ राराका स्याउ व्यापारी रावतले जानकारी दिए । किसानको बगैँचामै प्रतिकिलो स्याउ ७५ रुपैयाँभन्दा बढीमा बिक्री भएको छ ।
कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष जुम्लामा करिब १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ, जुन विगत दुई वर्षयताकै न्यून हो । जुम्लाको कुल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टरमध्ये चालु आवमा ४ हजार ४ सय ४५ हेक्टरमा स्याउ खेती भइरहेको छ । तर उत्पादन भने २ हजार १ सय २५ हेक्टरमा मात्र भएको छ ।
हाल जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, जनाधन, गाला, फुजी र इटालियन जातका स्याउ व्यावसायिक रूपमा फलाइँदै आएको छ । कर्णाली प्रदेशको प्रमुख नगदे बालीका रूपमा परिचित जुम्लाको स्याउ हरेक वर्ष सुर्खेत, नेपालगन्ज, दाङ, काठमाडौंलगायत सहरहरूमा पठाइन्छ ।











नेपालीरैबार । २०८२ आश्विन २८, मंगलवार