सुर्खेत । कार्यस्थलमा हुन सक्ने लैङ्गिक हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशले सुर्खेतमा तीन सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरेको छ । यो समिति महासंघअन्तर्गत सञ्चालित “शसक्त महिला, समृद्ध नेपाल” कार्यक्रमको पुनःसञ्चालन अभियानअन्तर्गत गठन गरिएको हो ।
वीरेन्द्रनगर–६ स्थित कृषि बजारभित्र आयोजित कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीको अध्यक्षता र महासंघ, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) की कर्णाली प्रदेश संयोजक श्रीजना ढकाल, महासंघकी सदस्य तथा EWPN की फोकल पर्सन भगवती भट्टराई, महासंघका सदस्य तथा गैरसरकारी संस्था समन्वय समिति संयोजक प्रेम भण्डारी, कार्यकारी निर्देशक महेशकेशर खनाल लगायतको उपस्थित थियो ।
गठित तीन सदस्यीय समितिमा रोजगारदाताको प्रतिनिधित्व कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले संयोजकका रूपमा गर्नेछन् । कर्मचारी प्रतिनिधिका तर्फबाट केशर रास्कोटी र स्वतन्त्र व्यक्तिका रूपमा वीरेन्द्रनगर–१० की ज्ञानु चपाईं सदस्य चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि पदमबहादुर शाहीले कार्यस्थलमा सुरक्षित र सम्मानजनक वातावरण निर्माणका लागि यस्तो समिति अपरिहार्य रहेको बताउँदै भने, “कार्यस्थलमा हुने कुनै पनि प्रकारको लैङ्गिक हिंसा वा दुर्व्यवहार अस्वीकार्य छ ।
गुनासो सुनुवाइ समिति गठनले समस्या रोकथाम र समाधान दुवैमा सघाउ पुर्याउँछ।” त्यसैगरी, ILO की संयोजक श्रीजना ढकालले समावेशी र लैङ्गिक समानता प्रवर्द्धन गर्ने कार्यस्थल निर्माणतर्फ यो महत्वपूर्ण कदम भएको बताइन्। EWPN की फोकल पर्सन भगवती भट्टराईले समितिको सक्रियताले पीडितलाई न्याय दिलाउने र लैङ्गिक हिंसा घटाउने विश्वास व्यक्त गरिन् । महासंघका कार्यकारी निर्देशक महेशकेशर खनालले भने, “सुरक्षित र सम्मानजनक कार्यस्थलले कर्मचारीको मनोबल, उत्पादनशीलता र संस्थाको प्रतिष्ठा दुवै बढाउँछ ।
यस्तो समिति उद्योग क्षेत्रको पारदर्शिता र उत्तरदायित्वको परिचय हो। कार्यक्रममा “शसक्त महिला, समृद्ध नेपाल” कार्यक्रमका कर्णाली प्रदेश संयोजक लोकप्रसाद लामिछानेले समितिको उद्देश्य र कार्यक्षेत्रबारे प्रस्तुति दिएका थिए। गुनासो सुनुवाइ समितिबाट कार्यस्थलमा सुरक्षित वातावरण निर्माण, लैङ्गिक समानता प्रवर्द्धन, र कर्मचारीलाई निःसंकोच आफ्ना समस्या राख्न सक्ने औपचारिक थलो प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले संस्थाको सामाजिक छवि र विश्वासनीयता बढाउने, साथै कर्मचारीको आत्मविश्वास, मनोबल र उत्पादनशीलता वृद्धिमा योगदान गर्ने विश्वास लिइएको छ ।













नेपालीरैबार । २०८२ आश्विन ३१, शुक्रबार