चाडपर्व भत्ता बुझेर गाउँमा मस्त प्रदेश सांसद, कर्णाली प्रदेश सभा अझै खण्डहरमै

सुर्खेत । गत भदौ २४ गतेको आन्दोलनले कर्णाली प्रदेशसभाको सम्पूर्ण संरचना खरानी बनायो । मुख्य भवनदेखि सभाहल, सचिवालय, लेखा र जिन्सी शाखासम्म सबै जलेर नष्ट भए ।  हालसम्म पुनर्निर्माणको कुनै तयारी छैन । तर, यस्तो संकटको बीचमा पनि प्रदेश सांसदहरूले झण्डै १८ लाख रुपैयाँ बराबरको चाडपर्व खर्च बुझिसकेका छन् ।

सभामुख, उपसभामुख, विपक्षी दलका नेता, प्रमुख सचेतक, समितिका अध्यक्ष र सांसद गरी ३२ जनाले असोज पहिलो सातामै यो रकम प्राप्त गरेका हुन् । अधिकांश सांसद अहिले गाउँतिरै रमाइरहेका छन्, तर क्षतिग्रस्त प्रदेशसभा हेर्न धेरैजसो पुगेका छैनन् ।

आन्दोलनबाट प्रदेश सरकारलाई ७ करोड ८१ लाख रुपैयाँभन्दा बढी क्षति पुगेको थियो । त्यसमध्ये सबैभन्दा धेरै ३ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति प्रदेशसभा भवनमा भएको हो । मुख्य सभाहलदेखि सभामुखको कार्यकक्षसम्म सबैकुरा जलेर खरानी भएका छन् ।

अहिले सभा परिसर सुनसान छ । सचिवालयका कर्मचारीहरू सभामुखको सरकारी निवासबाट कामकाज सञ्चालन गरिरहेका छन् । त्यहाँ दुईवटा कम्प्युटरको सहारामा कार्यालय सञ्चालन भइरहेको छ ।

प्रदेशसभा सचिवालयले तिहारपछि पुनर्स्थापनाका लागि बैठक बोलाउने तयारी गरेको छ । सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार, जलेकै भवन प्रयोग गर्न सकिने वा नयाँ संरचना आवश्यक पर्ने विषयमा प्राविधिक मूल्यांकन भइरहेको छ ।

राजनीतिक विश्लेषक पीताम्बर ढकाल भन्छन्, सभाको सम्पूर्ण संरचना ध्वस्त हुँदा पनि सांसदहरूले चाडपर्व खर्च लिएको घटना नैतिकताविहीन हो । कर्णालीका करिब १७ लाख नागरिकको आवाज प्रतिनिधित्व गर्ने प्रदेश सभा आज पनि खरानीमै छ,  तर माननीयहरूका खातामा भने भत्ता समयमै पुगेको छ ।

तपाईको प्रतिक्रिया