रुकुमपश्चिममा जिप दुर्घटना, ८ जनाको मृत्यु, १० जना घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला ओली, आठबिसकोट–१ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, आठबिसकोट–२ की १७ वर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीया गोपाल ओली रहेका छन् ।

दुर्घटनामा परेर चालकसहित १० जना घाइते भएका छन् । घाइतेहरूमा मुसीकोट नगरपालिका–२ का ३४ वर्षीय चालक टोपजंग बुढा, आठबिसकोट–१ की १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता विक छन् । घाइतेमध्ये जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारे लेकमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार जिप सडकबाट करिब सात सय मिटर तल खसेको थियो । क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया