काठमाडौं । नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा माओवादी केन्द्रका अध्यक्ष तथा सम्झौताका हस्ताक्षरकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सार्वजनिक सन्देश जारी गरेका छन्। सन्देशमार्फत उनले शान्ति प्रक्रियामा योगदान पुर्याउने सहिद, बेपत्ता तथा घाइते योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति सम्झौताको अवशेष काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रचण्डले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक र क्षेत्रीय उत्पीडन अन्त्य गर्ने उद्देश्यका साथ अघि बढाइएको जनयुद्धलाई संस्थागत गर्ने प्रक्रियामा वृहत्त शान्ति सम्झौता ऐतिहासिक मोड भएको उल्लेख गरेका छन्।
उनले शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरण गरेका छन् । सन्देशमा उनले शान्ति सम्झौताले नेपालमा सामन्तवादको अन्त्य गर्दै संघीयता, समावेशिता, धर्मनिरपेक्षता तथा लोकतान्त्रिक गणतन्त्रको संविधान स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताका लक्ष्य सम्पन्न हुँदैनन् प्रचण्डले भनेका छन्। उनका अनुसार नयाँ एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व बोकेर बाँकी कार्यान्वयन पूरा गर्ने प्रतिवद्धता जनाएको छ।
प्रचण्डले शान्ति सम्झौताकै मूल मर्म— समानतामूलक, लोककल्याणकारी र समावेशी गणतन्त्र आजको ‘जेन–जी’ पुस्ताले समेत उठाइरहेको आवाजसँग मेल खाने बताए। उनले शासन प्रणाली तथा संविधानमा आवश्यक सुधार गर्न सके मात्र युवाहरूको आकांक्षा सम्बोधन हुनसक्ने धारणा राखे ।सन्देशको अन्त्यमा उनले विगतबाट सिकेर वर्तमान समस्याहरू समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्ने आग्रह गरेका छन् ।









नेपालीरैबार । २०८२ मंसिर ५, शुक्रबार