कालीकोटमा लेखा जनशक्ति अभाव, एकै अधिकृतले ६ कार्यालयको जिम्मेवारी सम्हाल्दै

कालीकोट । कर्णाली प्रदेश सरकारका विभिन्न कार्यालयमा लेखापालको अभाव बढेपछि कालीकोटमा एकै लेखा अधिकृतलाई एकैसाथ छ वटा कार्यालयको जिम्मेवारी तोकिएको छ। दरबन्दीअनुसारको जनशक्ति नहुँदा लेखा व्यवस्थापनमा चाप बढ़ेको छ। प्रदेश लेखा इकाई कालीकोटले लेखा अधिकृत विश्वामित्र उपाध्यायलाई ६ वटा कार्यालयको लेखाकर्म सम्हाल्ने जिम्मा दिएको छ। उपाध्यायले दिनरात खटिँदै सबै कार्यालयको कामकाज निरन्तर रूपमा अघि बढाइरहेका छन् । संगठन तथा व्यवस्थापनसम्बन्धी ऐनअनुसार प्रत्येक कार्यालयमा दरबन्दीअनुसार जनशक्ति राखिनुपर्ने व्यवस्था भएपनि कालीकोटका विभिन्न प्रदेश सरकारी कार्यालयमा लेखाको पद रिक्त हुँदा एउटै अधिकृतमा कामको भार परेको सरोकारवालाले बताएका छन्।

तर आन्तरिक नियन्त्रण, कानुनी व्यवस्था र कार्यक्षमताको दृष्टिले लेखा अधिकृतहरूले आवश्यक परे अन्य कार्यालयको काममा सहयोग गर्नु सकारात्मक पक्ष भएको पनि उनीहरूको भनाइ छ। लेखा अधिकृत उपाध्यायका अनुसार जनशक्ति अभावले काम केही जटिल भए पनि आफूले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरिरहेको बताए। ६ वटै कार्यालयमा नियमित रूपमा पुग्ने वातावरण नभएकाले एकै कार्यालयमा बसेर फरक–फरक समयमा सबै कार्यालयको कागजी तथा वित्तीय प्रक्रिया व्यवस्थापन गर्नुपरेको उनले बताए।

उपाध्यायको दरबन्दी मुख्य रूपमा प्रदेश लेखा इकाई कालीकोटमा भए पनि हाल लेखाको कमीका कारण उनले डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय, प्रदेश लेखा इकाई, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय गरी ६ कार्यालयको सम्पूर्ण लेखा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

तपाईको प्रतिक्रिया