प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग सम्बन्धी जेनजी मुभमेन्टको आरोप–प्रतिवेदन

काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सरकारमाथि गम्भीर आरोपहरू लगाएको छ । भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका घटनामा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै संगठनले कार्कीले पदमा बस्न नहुने जनाएको हो। सोमबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा, ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौता मार्फत ४३ करोड रुपैयाँ बराबरको क्षति देशले व्यहोर्नु परेको आरोप लगाइएको छ।

त्यस्तै, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा संलग्न रहेको तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नै काका नाता पर्ने व्यक्तिलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी विस्तार गरेको जस्ता आरोपहरू पनि उल्लेख गरिएको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्ना आफन्तलाई सचिवालयमा राखेको भन्दै संगठनले सबै घटनाहरू ‘प्रधानमन्त्रीको प्रत्यक्ष भूमिका र संरक्षणबिना सम्भव नहुने’ निष्कर्ष निकालेको छ। प्रवक्ता विजय शाहीद्वारा जारी विज्ञप्तिमा तत्काल प्रधानमन्त्री कार्कीको राजीनामा माग गरिएको छ।

तपाईको प्रतिक्रिया