रास्कोट सडक परियोजना अलपत्र, स्थानीयवासी असन्तुष्ट

सुर्खेत ।  कालीकोटको रास्कोट नगरपालिकाको मुख्य सडक कालोपत्रको काम अलपत्र अवस्थामा परेको छ । शान्तीघाट–सिपखाना सडकअन्तर्गत शान्तीघाटदेखि बडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्र गर्न २०७८ असार ३ गते ठेक्का सम्झौता भए पनि चार वर्षसम्म निर्माण सम्पन्न भएको छैन । पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर कृष्ण प्रसाद शर्माका अनुसार, निर्माण कम्पनी के.एस. शनिदेव जेभी, महेन्द्रनगरले ठेक्का सम्झौता भएको ७ महिनापछि मात्र काम सुरु गरेको र त्यस यता रोकिएको छ। कम्पनीले अग्रिम भुक्तानी (पेस्की) बापत ४ करोड ४० लाख रुपैयाँ लिए पनि हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

स्थानीय नागरिकले सडकको हालको अवस्थाप्रति गुनासो गरेका छन्। रास्कोट नगरपालिका–६ का देविन्द्र बमका अनुसार, धूलो मात्र उठ्ने सडकमा गाडी चलाउन कठिन भएको छ । नगरपालिकाका मेयर धर्मराज शाहीले निर्माण कम्पनीका मुख्य प्रतिनिधि देविदत्त भट्टालाई तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् । कम्पनीका भट्टाले भने देशको परिस्थिति, लकडाउन र रकम अभावले काम रोकिएको हो । अब मोडल सपोर्टसहित काम पूरा गर्ने तयारी छ । हाल कम्पनीले ८० लाख पेस्की फर्छ्यौट गरेको छ भने ३ करोड ६० लाख रुपैयाँ बाँकी छ। पूर्वाधार विकास कार्यालयले पेस्की दाखिलाका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया