कालीकोट । कालीकोटका सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षकको अभाव वर्षौँदेखि समाधान हुन सकेको छैन। गणित, विज्ञान र अङ्ग्रेजी विषयका स्थायी तथा करार शिक्षक नपाउँदा विद्यालयहरूमा पठन पाठन प्रभावित हुँदै आएको छ। नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छस्थित रूपादेवी माध्यमिक विद्यालयले गणितका शिक्षक भर्ना गर्न १८ पटकसम्म विज्ञापन गरे पनि कुनै दर्ता नआएपछि १९-औँपटक फेरि विज्ञापन गर्नुपरेको छ। अछामको रामारोसनसँग सीमाना जोडिएको दुर्गम क्षेत्रमा पर्ने यो विद्यालयमा गत वर्ष प्राप्त सङ्घीय अनुदान कोटाको दरबन्दी पनि शिक्षक अभावकै कारण रिक्त छ । वैशाखयता प्रत्येक १५ दिनको फरकमा विज्ञापन गर्दा पनि दरखास्त नआएको विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले बताए ।
कात्तिक ३० गते आह्वान गरिएको आवेदनमा पनि अध्यापन अनुमतिपत्र भएका शिक्षक नपाइने सम्भावना रहेको उनले बताए। दलित समुदायको ९० प्रतिशत बसोबास रहेको उच्छवबाट नजिकको अर्को विद्यालय पुग्न दुई घण्टा जङ्गलको बाटो हिंड्नुपर्छ। स्थानीयले २०३५ सालमा सामूहिक श्रमदान गरेर स्थापना गरेको रूपादेवी विद्यालयमा हाल बाल विकासदेखि कक्षा १० सम्म ३७५ विद्यार्थी अध्ययनरत छन्। तीन स्थायी प्रावि दरबन्दीसमेत पार नपुगेपछि पालिका अनुदान र निजी स्रोतमार्फत १३ जना शिक्षकका भरमा विद्यालय सञ्चालन भइरहेको छ । शुभकालिका गाउँपालिका–२, बालाचौरस्थित कालिका माध्यमिक विद्यालयले पनि अघिल्लो शैक्षिक वर्षमा मावि तह विज्ञान विषयका शिक्षकका लागि पाँच पटक विज्ञापन गरे पनि कुनै लाइसेन्सयुक्त शिक्षकले आवेदन दिएनन्। यसकै कारण २०८१/८२ शैक्षिक सत्रका लागि प्राप्त विज्ञान विषयको सङ्घीय अनुदान ‘फ्रिज’ भएको प्रधानाध्यापक सरस्वती बस्नेतले जानकारी दिइन् ।
शिक्षक नपाएपछि विद्यालयले व्यवस्थापन समिति मार्फत बिनालाइसेन्सको शिक्षक राखेर अध्यापन गराइरहेको छ। जेठ १० गतेको निर्णयअनुसार स्थानीय अमरबहादुर शाहीलाई अभिभावकबाट उठेको रकममार्फत मासिक २५ हजार पारिश्रमिक दिने गरी नियुक्त गरिएको हो। ५०१ विद्यार्थीमध्ये २८३ जना दलित समुदायका रहेका यो विद्यालयमा पनि पालिका, सङ्घीय अनुदान र निजी स्रोतमार्फत १३ शिक्षकले पठन–पाठन सम्हालेका छन्। यस्तै दाहाल मावि सुकाटिया र जनता मावि छातीजस्ता विद्यालयमा पनि विज्ञान, गणित र अङ्ग्रेजी विषयका सङ्घीय अनुदान दरबन्दी रिक्त नै छन्। शुभकालिका गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यका अनुसार स्थायी दरबन्दी नभएका १२ माध्यमिक विद्यालयलाई प्रति विद्यालय ती विषयका तीन शिक्षकका लागि ४३ हजार ६८९ रुपैयाँ प्रतिव्यक्ति अनुदान दिने व्यवस्था भए पनि शिक्षक नै नपाउँदा विद्यालयहरू मर्कामा परेका छन् ।
पलाता गाउँपालिकाले पनि गत वर्ष अङ्ग्रेजी, गणित र विज्ञानका शिक्षक भर्ना गर्न विज्ञापन गरेकाले पनि दर्ता नआएपछि विद्यालयहरूलाई आफैँले शिक्षक खोज्न निर्देशन दिएको थियो। त्यसपछि दुधेसिल्लो माविले तीन पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि छिमेकी विद्यालयका शिक्षकलाई अतिरिक्त पारिश्रमिक दिने सर्तमा ल्याएर कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक मानबहादुर रोकायाले बताए। कालिका मावि धौलागोह डोरीका विज्ञान शिक्षक अमरबहादुर शाहीलाई १० हजार थप निजी स्रोतबाट दिन सहमति भएको उनले बताए । शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईका अनुसार विषयगत शिक्षक नपाइनु कालीकोटका नौवटै स्थानीय तहको共 समस्या बनेको छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयमा अध्ययन गरेका विद्यार्थीले शिक्षण पेशालाई प्राथमिकता नदिँदा यस्तो समस्या झनै चर्किएको उनले बताए ।









नेपालीरैबार । २०८२ मंसिर १५, सोमबार