कालीकोट । ग्रामीण क्षेत्रका महिलाको दैनिक कार्यबोझ अझै पनि कम हुन सकेको छैन। घरपरिवार सञ्चालनदेखि पशुपालन, वनपात र खेतबारीसमेतका सबै जिम्मेवारी महिलामै केन्द्रित भएकाले उनीहरूको दैनिकी आज पनि उस्तै कष्टकर बनेको स्थानीयवासी बताउँछन्। बिहानै उठेर खाना पकाउने, भाँडा माझ्ने, बालबालिकाको हेरचाह, घाँस–दाउरा काट्ने, खेतबारीमा श्रम गर्ने जस्ता काम महिलाकै काँधमा पर्दै आएको छ । दुर्गम बाटो, उकाली–ओराली र भारी बोकेर टाढासम्म हिँड्नुपर्ने बाध्यताले उनीहरूको श्रम अझ कठिन भएको छ । खाँडाचक्र नगरपालिका–१ की गौरा शर्मा आचार्यले बिहानको सरसफाइदेखि वनपातसम्मका सबै काम महिलाले नै सम्हाल्नुपर्ने बताउँदै, “सडक यसै पनि छ, तर घाँसका भारी बोकेर हिँड्दा सरकार बदलिँदा पनि हाम्रो दुःख बदलिएको छैन,” भन्नुभयो। पुरुषहरू प्रायः रोजगारीका लागि बाहिर जाने भएकाले घर र खेतीपातीको सम्पूर्ण जिम्मा महिलाकै हातमा पर्ने उहाँको अनुभव छ ।
महिला अधिकारकर्मी निस्ता कार्की रावलका अनुसार महिलाले गर्ने कडा मेहनतलाई न त घरपरिवारले मूल्यांकन गर्छ, न समाजले। १६ दिने हिंसाविरुद्धको अभियान चलिरहेका बेला पनि महिलाको पीडा र कार्यबोझ उस्तै रहेको उनले बताइन्। स्थानीय बासिन्दाले महिलाको बोझ घटाउन सहुलियतयुक्त यातायात, सामुदायिक घाँस–दाउरा व्यवस्था, आधुनिक कृषि उपकरण र सीपमूलक रोजगारी आवश्यक रहेको सुझाव दिएका छन् ।
नागरिक अगुवा तथा अधिवक्ता खडानन्द चौँलागाई भन्छन् ग्रामीण महिलाको भार कम गर्न कृषिजन्य मल उत्पादन, कच्चा पदार्थ ढुवानी र कृषि अनुदान जस्ता कार्यक्रम प्रभावकारी रूपमा लागू हुनुपर्छ। खेतबारी बाँझो नराख्न सरकार आग्रह गर्नेजत्तिकै, मलबिना उत्पादन सम्भव नभएकाले महिलालाई वनपातको बाध्यता कायम रहने उहाँको तर्क छ। महिलाको कार्यबोझ न्यूनीकरणका लागि स्थानीय तह र प्रदेश सरकारले आयआर्जनका काम, सीप विकास कार्यक्रम र सहुलियतपूर्ण सेवासुविधा विस्तार गर्नुपर्ने चौँलागाईंले सुझाउनुभयो ।









नेपालीरैबार । २०८२ मंसिर २३, मंगलवार