दैलेख । दैलेखको नौमुले गाउँपालिका–५ गजमालीमा छोरीले कुटपिट गरेको घटनामा ६५ वर्षीय धनबहादुर रामजाली मगरको मृत्यु भएको छ । २२ गते साँझ घरमै मदिरा सेवन गरेका बेला छोरीले कुटपिट गरेपछि घाइते भएका उनी उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विवाहविच्छेद भएपछि माइतीघरमा बस्दै आएकी २७ वर्षीया तिर्सना रामजाली मगरले मदिराको नशामा काठको चिरपटले बुबाको टाउकोमा प्रहार गरेकी थिइन् । गम्भीर घाइते भएका धनबहादुरलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र नौमुले पुर्याइए पनि उपचारकै क्रममा सोही दिन साँझ मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा पाँच सदस्यीय टोली खटिएको थियो। घटना जि.प्र.का. नौमुले कार्यालयबाट करिब २ किलोमिटर उत्तर–पूर्वमा पर्ने स्थानमा भएको प्रहरीले जनाएको छ । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेबाट राति ८:१५ बजे जिल्ला अस्पताल दैलेख पोस्टमार्टमका लागि पठाइएको छ । कुटपिटमा संलग्न तिर्सना रामजाली मगरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएर राखेको छ ।









नेपालीरैबार । २०८२ मंसिर २३, मंगलवार