दैलेखका गाउँ–गाउँमा छाउगोठ पुनः निर्माण हुन थाले

दैलेख  ।  केही वर्षअघि छाउपडीलाई दण्डनीय अपराध घोषणा भएपछि दैलेखका धेरै गाउँमा छाउगोठ भत्काइएका थिए । तर अहिले ती स्थानमै फेरि नयाँ संरचना निर्माण हुन थालेको स्थानीयवासी बताउँछन् । आठबिस नगरपालिका–१ सात्तलाका वडाध्यक्ष बमबहादुर रावतका अनुसार वडाका ६५२ घरधुरीमध्ये करिब २५० भन्दा बढी घरमा छाउगोठ पुनः बनेका छन्। “अभियानका क्रममा धेरैले छाउगोठ भत्काएका थिए,” वडाध्यक्ष रावत भन्छन  तर अहिले अधिकांशले फेरि सुधारिएको रूपमा बनाइदिएका छन् ।  छाउगोठ भत्काउने अभियानका दौरान महिनावारीका समयमा महिलालाई अलग राख्ने परिवारलाई सरकारी सुविधा नदिने निर्णय गरिएको थियो। घर निर्माण अनुदानदेखि स्वास्थ्य तथा कृषि कार्यक्रमसम्म सहभागी हुन सामाजिक व्यवहार सुधार अनिवार्य गरिएको थियो। तर व्यवहारमा निर्णयले पर्याप्त प्रभाव पार्न नसकेको वडाध्यक्षको भनाइ छ। “धार्मिक आस्था र सामाजिक दबाब प्रशासनभन्दा बलियो देखियो  उनले बताए ।

आठबिस नगरपालिकाकी पूर्वकार्यपालिका सदस्य कमला थापाले भने छाउगोठ पुनर्निर्माण भएकोबारे जानकारी नभएको बताइन्। उनीका अनुसार पुरानोजस्तो ‘छाउपडी’ प्रथा घटेको भए पनि ‘छाउ बार्ने’ चलन भने अझै समाप्त भएको छैन पहिलेकोजस्तो कठोर प्रथा छैन, तर छाउ बार्ने चलन भने कायम छ,” थापाले भनिन्।  यद्यपि स्थानीय नेतृत्वको भनाइ फरक–फरक भए पनि महिलाहरू महिनावारी र छाउपडीबारे खुलेर बोल्न अझै कठिनाइ अनुभव गरिरहेको देखिन्छ। सामाजिक सुधार अध्ययन केन्द्र, सात्तलाका जौधरा आचार्यका अनुसार केन्द्रले छाउपडी प्रथाविरुद्ध जनचेतना कार्यक्रम चलाइरहेको छ। “हामी स्वयं छाउपडी मान्दैनौँ, तर गाउँमा आंशिक रूपमा प्रथा कायम छ,” उनले बताए । स्थानीय वीरबहादुर नेपालीका अनुसार सामाजिक दबाबकै कारण छाउपडी हट्न सकिरहेको छैन। छाउपडी नियन्त्रण ऐन २०७४ ले महिनावारी वा प्रसूति भएको महिलालाई अलग बस्न बाध्य गराउनेलाई कारबाही गर्ने व्यवस्था छ। तर कानुन कार्यान्वयन फितलो भएकाले दुर्गम गाउँमा प्रथा उन्मूलन हुन नसकेको उनीहरूको भनाइ छ ।

महिनावारीका बेला चिसो ठाउँमा बस्नुपर्ने, दुध–दही नछुने, राति एक्लै बस्नुपर्ने जस्ता प्रतिबन्धले महिलामा स्वास्थ्य समस्या बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माका अनुसार कुरीतिले महिलाको पोषण, मानसिक अवस्था र गर्भावस्थासम्ममा असर पुर्‍याइरहेको छ । सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाका अनुसार संस्थाले विगतमा छाउपडीविरुद्ध छुट्टै कार्यक्रम चलाए पनि हाल अन्य कार्यक्रमसँगै छाउपडीबारे चेतना अभिवृद्धि गर्दै आएको छ। दैलेखमा एक समयमा २४१ वटा छाउगोठ भत्काइएका थिए । तर अहिले पुनः संरचना विस्तार हुँदै गएको देखिन्छ ।

तपाईको प्रतिक्रिया