कर्णालीमा योजना तर्जुमा प्रक्रियामा राजनीतिक हस्तक्षेप कायम : मुख्यमन्त्री कँडेल सुर्खेत

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका विकास योजनाहरू तयार गर्ने प्रक्रियामा निरन्तर राजनीतिक हस्तक्षेप हुने गरेको बताएका छन्। कर्णाली प्रदेश योजना आयोगले बुधबार आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै उनले राजनीतिक प्रभावका कारण योजनाको गुणस्तर र कार्यान्वयनमा प्रत्यक्ष असर परेको स्पष्ट पारे । उनले भने संघीयता आइसके पनि निर्णय प्रक्रिया पुरानै ढाँचामा अडिएको छ। राजनीतिक पहुँच र हस्तक्षेपले कहिलेकाहीँ अनिवार्य रूपमा पनि मान्नैपर्ने स्थिति आउँछ, जसले विकासको गति सुस्त बनाएको छ ।

मुख्यमन्त्री कँडेलका अनुसार प्रदेश मातहतका कार्यालयहरूले समयमै निर्णय नलिँदा जनताले अपेक्षा गरेका काम अघि बढ्न सकेका छैनन्। पुराना कानुन र प्रणालीहरूकै कारण प्रशासनिक प्रक्रिया झनै जटिल बनेको उनको भनाइ थियो । विकास निर्माणमा देखिने ढिलासुस्ती रोक्न जनशक्ति, व्यवस्थापन तथा संस्थागत क्षमता अभिवृद्धि अपरिहार्य भएको उनले बताए। कर्णालीको दिगो विकासका लागि सबै सरोकारवाला एक ठाउँमा उभिनुपर्ने आवश्यकता उनले जोड दिए।

निजी क्षेत्रसँग सहकार्य गर्दै कृषि, पर्यटन र जलश्रोत क्षेत्रमा लगानी बढाउन सके कर्णालीले छिटो परिवर्तन अनुभव गर्ने उनको दाबी थियो । कर्णालीलाई कस्तो बनाउने भन्नेमा साझा प्रतिबद्धता आवश्यक छ ।  मुख्यमन्त्री कँडेलले भने सबैको समन्वय र जिम्मेवारीबोध बिना इच्छित विकास सम्भव छैन ।

तपाईको प्रतिक्रिया