वीरेन्द्रनगरमा दुई सरकारी भवन निर्माण सुस्त, पटक–पटक म्याद बढाउँदा पनि काम अधुरै

सुर्खेत ।  वीरेन्द्रनगरमा निर्माण भइरहेका दुई महत्वपूर्ण सरकारी भवनहरूको काम निकै सुस्त गतिमा अघि बढिरहेको छ । पटक–पटक म्याद बढाइँदा पनि कामले सन्तोषजनक प्रगति देखाउन नसकेको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश आयुर्वेद औषधालय (हाल १५ शय्या आयुर्वेद अस्पताल) र कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र (नाम परिवर्तन गरी मेडिकल स्टोर सुर्खेत) को भवन निर्माण वर्षौँदेखि जारी छ तर पूर्णता भने देखिएको छैन । निर्माण कम्पनीको लापरवाहीका कारण काम ढिलो भएको कार्यालयका सूचना अधिकारी रामकृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार तोकिएको समयमै काम नसकेपछि म्याद थपेर निर्माण अघि बढाइँदै आएको हो, तर प्रगति अपेक्षाकृत निकै कमजोर छ ।

३ पटक म्याद थपिएको आयुर्वेद अस्पताल भवन २०७८ असारमा निर्माण थालिएको थियो। १८ करोड २२ लाख बजेटमा कौशल जगदम्बा सुपर स्ट्रार निर्माण कम्पनीले काम लिएको भए पनि अहिलेसम्म भवनको दुई तलाको ढलान मात्रै सम्पन्न भएको छ । सुरुको सम्झौता अनुसार २०८० चैत २१ गतेभित्र काम सकिनुपर्ने थियो, तर अब पछिल्लो म्याद २०८२ माघसम्म धकेलिएको छ । त्यसैगरी मेडिकल स्टोर सुर्खेत (पहिलेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र) को भवन निर्माण पनि ढिलाइका कारण बारम्बार म्याद थपेर अघि बढाइँदै आएको छ। कार्यालयले दुवै परियोजनामा निर्माण कम्पनीलाई ताकेता गर्दै काम तीव्र गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया