घडी एक घण्टा ढिला पारिने दिन !

आज अक्टोवर २५ तारिक अथवा अक्टोवर महिनाको अन्तिम आइतवार । यूरोपतिर आजैदेखि जाडो यामका लागि सबैले आफ्नो घडी १ घण्टा ढिला गराउँछन् । आज १ घण्टा ढिला बनाइएको घडी मार्च महिनाको अन्तिम आइतवार पुनः १ घण्टा छिटो पारिन्छ । त्यहाँ यसैको आधारमा जाडो र गर्मी याम भनिन्छ ।

जस् अनुसार आज अक्टोबर महिनाको अन्तिम आइतबार विहान ३ बज्दा सूई पछाडि घुमाएर २ बजाइएको छ । त्यसै गरी गर्मी याम सुरु भएको मानिने मार्चको अन्तिम आइतबार चाहिं  विहान २ बजेको बेला अगाडि सारेर ३ बजाइन्छ ।

यसरी घडी अगाडि पछाडि घुमाएर समय मिलाउने विश्वभरी अहिले ७० वटा देश छन्, तर सुरुवात चाहिं यूरोपियन मुलुकबाट भएको हो ।

सूर्यको परिक्रमा गर्दा पृथ्वी ३० डिग्रीको कोण बनाई ढल्किएका कारण उत्तरी गोलार्द्धका यूरोप, उत्तर अमेरिका र रुसमा जाडो समयमा अलि ढिला गरी उज्यालो हुने र छिट्टै साँझ पर्ने गर्दछ ।

त्यहाँ गर्मी याममा मुस्किलले बराबर समयको दिन हुने भए पनि हिउँदको याममा चाहिं रात धेरै लामो र दिन धेरै छोटो हुने गर्दछ, यही भौगोलिक अवस्थितिको वाध्यताले यो आवश्यक ठानिएको हो ।

जाडो याममा १ घण्टा ढिला र गर्मी याममा १ घण्टा छिटो घडीको समय सारिने प्रचलन सुरु भएको त्यति धेरै समय भएको छैन । सन् १९७६ को अक्टोवर २४ तारिक तदनुसार २०३३ कात्तिक ८ गते पहिलो पटक १ घण्टा ढिला पारिएको थियो ।

यो समय सारिणी मिलाइनुको कारण चाहिं पेट्रोलियम पदार्थ अथवा इन्धनको अभावको घटनासंग जोडिएको छ । सन् १९७३ मा विश्वभर पेट्रोलियम पदार्थ इन्धनको संकट परेको थियो । इन्धन बचतका लागि भनेर घडीको सुई १ घण्टा ढिला गराइएको थियो ।

त्यतिबेला उत्तरी गोलार्द्धमा मात्र होइन, यातायातका साधनको बृद्धि र पेट्रोलियम पदार्थको वितरण प्रणाली समस्याले विश्वभर इन्धनको संकट थियो । त्यसबेला संकट पार लगाउन अमेरिकाले तेल निकासी गर्न पाइप लाइन बिस्तार गर्ने प्रविधि विकास गरेको थियो ।

इन्धन बचत र सरकारी काम कारवाहीलाई सहज बनाउन यसो गरिएको हो । अचेल यो प्राविधिक कुराले त्यहाँका बासिन्दाले आफ्नो हातको घडी, मोवाइल सेट र अरु विद्युतीय उपकरणमा समेत समय निश्चिताका लागि रि–सेटिङ्ग गर्दछन् ।

यूरोपमा घडी नै मिलाएर कार्यालय समय व्यवस्थापन गर्ने गरिए कै रुपमा नभए पनि नेपालमा मौलिक तरिकाले सरकारी कार्यालय खुला गर्ने समय व्यवस्थापन गरिएको छ ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० देखि अपरान्ह ४ बजेसम्म मात्र कार्यालय खुल्दछन्, जबकि त्यस बाहेकको समय विहान १० देखि अपरान्ह ५ बजेसम्म कार्यालय खोलिन्छन् । यसलाई लामो दिन र छोटो दिनको आधार बनाइएको हो ।

तपाईको प्रतिक्रिया