मेरो माईती घर, श्रीमानको मावलि गाँउ हो । मेरो माईती घर अर्थात श्रीमानको मावली गाँउ जुम्ला बारकोटेबाडा । पोईली घर जाजरकोटको नायकबाडा । माईती घरबाट पोइली घर पुग्न हिडेरै दुई दिन बढी समय लाग्थ्यो । सायद अहिले पनि लाग्छ होला । किनकि जुम्ला, जाजरकोट जोड्ने सडक अँझै बनेको छैन । तर म त्यहाँ नगएको बर्षौ बितिसक्यो ।
माईती घरबाट दुई दिन बढीको पैदल यात्रा गर्दै बल्ल पोइली गाँउ पुग्दाका तिँ दिनहरुले भने अहिले पनि बेलाबेला झस्काउँछन् । श्रिमानको पिठ्युमा झोला र त्यही झोलामाथी जेठि छोरी । मेरो पेटमा कान्छि छोरी हुर्किँदै थिई । पिठ्युमा भने सामानको कुम्लो र माईली छोरी हुन्थ्ये । अनी त्यो चर्को घाममा ईमिल्च्या डाँडाँको उकाली चढ्दै गर्दा तप्प तप्प खसेका पसिनाले पुरै शरीर भिँजेर लठ्ठ परी थाकिन्थ्यो । लेकको बाटो । छिनछिनमा भईरहने भारी बर्षा र हावाहुरीबाट हरेक पल जोगीनु वा बाँच्नु पथ्र्यो । हामीले ओडेका प्लाष्टिक समेत हावाले उडाउँथ्यो । तर भिँजेको शरीर फेर्ने अर्को जोर कपडा भने हामीसँग हुँदैन थ्यो । पानीले भिँजेका छोरीहरु पिठ्युमै भोकले जोरका साथ चिच्याउँथ्ये ।
अनी हामी जंगल छेउ नजिकै रहेका भेडा खर्क तथा भैसी गोठमा बास माग्थ्यौ । त्यहाँ गोठालाहरुले बालेको आगोमा अघिपछि फर्केरै भिँजेका लुगा नखोलीकन शरीरमै सुक्थ्ये । आमाले घरबाट बाटोमा खाने नास्ता । अर्थात पोइली घरमा दिनका लागि नासो स्परुप बनाईदिएको सेल, रोटी समेत पानीले भिँज्थ्ये । तर भिँजेकै सेल, रोटी भएपनि गोठालाहरु भने अत्यन्तै मन पराउँथे । उनीहरुले सोधीखोजी गरी सेल, रोटी माग्थ्ये पनि । अनी हामी पनि उनीहरुका लागि बनाएको सुख्खा रोटी, भात, दुध, दही मागेरै खान्थ्यौ । गोठाला र बटुवाबिचको आत्मीयता असाध्यै प्यारो हुन्थ्यो । साँघुरो गोठमा गोठाला र बटुवा मिलेरै बस्नुपर्ने । चिसोले रात कटाउन निकै मुस्किल पथ्र्यो । राती निद्रा नलागेमा गोठालाहरु बिरहका गित गाएर बस्थ्ये । अनि हामी पनि गित सुन्दै निदाँउथ्यौ ।
जब मिरमिरे उज्यालो हुन्थ्यो । अनि हामी पनि गोठालाहरुसँग बिदा मागेर बाटो लाग्थ्यौ । पोइली घर नपुगुन्जेल बाटोको यात्रा यस्तै यस्तै हुन्थ्यो । सम्झीँदा अहिले पनि यात्राका रमाईला र कष्टपुर्ण दुबै पलहरुले उत्तिकै पिडा दिन्छन् । जिबनमा यति धेरै दुःख गरे, अँझै पनि गर्दैछु । अचेल दुःख मा रमाउने र दुःखलाई सजिलै बिदाई गर्नसक्ने म मा आँट पलाएको छ । तर श्रीमान, घरपरिवार अनी गाँउलेहरुसँग बिताएका तिँ सुख, दुःखका पलहरु म कसरी भुल्न सक्छुँ र ।
दाउरा जाँदा रुखबाट लड्दा खुट्टा भाँचीएर घाईते भएकि गाँउकि देउरानी पर्ने साँइलीलाई अचेल सन्चो छ कि छैन ? गाँउका बुढा सासु, ससुराहरुलाई कस्तो छ ? गाँउका बेरोजगार युवाहरु स्वदेशमै छन् कि विदेश ? किशोर किशोरीहरु पनि तन्नेरी भए होलान । साना बालबालिकाहरु मलाई चिन्दैनन् होला ? पोइली गाँउको बारेमा यस्तै यस्तै मनमा अनेक कुराहरु खेल्न्छन् । तर के गर्नु । मैले पोइली घर छोडेको १६ बर्ष पुग्यो । बाह्र बर्षपछि बगेको खोला पनि फर्किन्छ भन्छन् । नत तिमि नै फर्कियौ । नत म नै फर्किएँ तिम्रो घर । जब तिमिले हामीलाई सदाका लागि छोड्यौ । त्यसको ठिक बर्ष दिनपछि मैले पनि तिम्रो घर छाडेको थिएँ । हो, हुन त तिमि भन्दा मलाई धेरै स्वार्थी ठान्ला यो दुनियाँ । तर घर छोड्नुको पिडा त मलाई मात्र थाँहा छ ।
अचेल म माईतीमै छु । तिमिले दिएको नासो । अर्थात तिम्रा तीन छोरीलाई फलाँउदै फुलाँउँदै नझार्ने गरी हुर्काएकि छु । अनी एउटा कुरो थाँहा छ तिमिलाई ? जेठि छोरीले अनमी पढिसकि, माईली आईएसी एजि । कान्छि छोरी अर्थात तिमिले न्वारनसम्म गर्न नपाएकि दिलमाया सिंह म सँगै छ । उ पनि अहिले कक्षा १२ पास भइ । म सँग दिलमाया र दिलमायाका अरु ३५ जना साथीहरु पनि छन् । अहिले उनिहरुकै सेवामा लागेकी छुँ । उनीहरु सबै बहिरा बालबालिका हुन् । तर मलाई सबै आफ्नै सन्तान जस्तो लाग्छ । उनीहरुलाई दुख्दा मलाई पनि दुख्छ अचेल । सबैलाई बिहान बेलुका मेरै हातले पकाएको खाना खुवाउँछु । हामी कर्णाली मावि अनामनगर जुम्लाको बहिरा छात्रावासमा छौ । मैले पोइली घर छाडेपनि सिरको सिन्दुर र तिम्रा नासोहरुको भने सँधै रक्षा गरीरहेकि छु । यासद तिमि पनि स्वर्गबाट हेर्दैछौ, भने मेरो कर्म देखेर पक्कै दुःखी नहौला । तर तिम्रो….समाज आज पनि कुरा काट्छ । तिम्रा छोरीहरु बिहे गर्ने उमेरका भईसके । आज तिमि म सँग नभएनि छोरीहरुलाई कुनै कमि हुन दिएकि छैन । कहिले काँही यस्तो पनि लाग्छ । अब अन्तिममा छोरीहरुको राम्रो केटासँग बिहे गरुँ । र म पनि स्वर्गमा स्वामी राजालाई भेट्न जाँउ ।
उफ….यो सबै सोचाई मात्र न हो । जिन्दगी भने जस्तो कँहा सजिलो छ र ? म त भाग्यले ठगिएकि मान्छे । कर्मले पो सबैको विश्वास जितेकी छुँ । जिबनको पीडा र अनुभव सुनि दिने कोही छैन । साथमा भएका छोरीहरु पनि दिन प्रतिदिन पराँइ बन्दैैछन् । ४५ बर्षकी बुढि भइसकेँ । यासद बुढेसकालमा पनि म एक्लै हुन्छुँ होला । कडा मेहनत र परिश्रमले छोरीलाई हुर्कायो, पढायो अन्तत पराँई घरमै जानुपर्ने ? कहिले काँही यस्तो लाग्छ । तीन छोरी मध्य एक छोरा भइदिएको भएपनि…. ।
यहि पिडासँग जोडीएको छ, मेरो पिडादायी संघर्षको जिबन । आज भन्दा करीब ३० बर्ष पहिलेको कुरो हो । त्यति बेला म सानै थिँए । १४—१५ बर्षको उमेर । सबै कुरा आफै सोच्ने भइसकेकि थिईन । गाँउका साथीहरुले पनि यही उमेरमा धमाधम बिहे गरे । साथीहरुले मलाई पनि बिहे गर्न फकाए । केटोलाई हेर्न बोलाएछन् । म पनि फकिएँ । साथीहरुले मलाई गाँउ नजिकैको जंगलमा केटो भेट्न जाँउ भने । म पनि गँए । रात झमक्क पर्दै थियो । जंगलमा चराहरु चिरबिर गर्दै आफ्नो गुँडको खोजीमा थिए । हामीसँग उज्यालो गर्ने टर्चलाईट जस्ता केही साधान थिएनन् । जंगलमा धेरै समय कुरेपछि दुई, तीन जना केटाहरु आए । अध्यारोमै कुराकानी गर्यौ । कुरा गर्दै जाँदा मलाई फकाउने केटाको स्वर कताकता सुने जस्तो लाग्यो । मैले भनिहाँले तिमि नन्दबहादुर सिंह होईनौ ?
उ : स्वरबाटै कसरी चिन्यौ ?
म : चिन्छुँ नि मेरो घर नजिकै छिमेकिको घरमा तिम्रो मामा घर होईन । हो, तिमि मामा घर आँउदा धेरै पटक कवडी कवडी खेल खेलेका थियौ नि । म त्यतिखेरबाटै तिमिलाई स्वरबाटै चिन्छुँ ।
उ : हो नि म पनि त तिमिलाई त्यतिखेरबाटै मन पराउँछु ?
मन त म पनि पराउँथे उनलाई । तर उनी म भन्दा बुढो अर्थात बढी उमेरका थिए । तत्काल बिहे गरी हाल्ने भन्ने सोच थिएन । मलाई जसरी पनि लैजाने सोचमा उनी जाजरकोटबाट आएका रहेछन् । उनको मामा घर र मेरो घर नजिकै भएकाले करीब एक हप्ताजति दिनदिनै हाम्रो भेट भयो । हरेक भेटमा उनले आज नै भाग्नुपर्छ भनेर दबाब दिन थाले । नत्र तिसिँग बिहे नै गर्दिन भन्दै धम्कि दिए । अन्तत ः म पनि बिहे गर्न मञ्जुर भँए । र उनीसँग भागे पनि । विस्तारै समयय बित्दै गयो । सानो उमेर पढाई छोडेर बिहे गरेँ । काम केही आउँदैन थ्यो । पोइली गाँउमा आफु भन्दा साना र ठुलाको आधार सम्मान पनि गर्न जान्दैन थिएँ । विस्तारै विस्तारै उनको साथमा सबै काम सिँके । पोइला गईसकेपछि मात्रै थाँहा भयो । म भन्दा पहिले उनले दुई वटा बिहे पनि गरेका रहेछन् । तर दुभाग्यबस् दुबै स्वास्नी बितेछन् । उनका लागि म तेस्रो भएपनि मेरो लागि उनी पहिलो प्रेम थिए । १७ बर्षको उमेरमै छोरी जन्मि । दुई, तीन बर्षको अन्तरालमा तीन वटा छोरीलाई जन्म दिँए । हाम्रो सम्बन्ध र घरवार राम्रैसँग चलेको थियो । सासु, ससुरा, देवर, नन्दा लगाएतको संयुक्त परिवार थियो । ठुलो परिवार भएकाले घरखर्च चलाउन निकै मुस्किल हुन्थ्यो । काम नगरेको दिन आधा पेट खाएर सुत्नुपर्ने बाध्यता थियो ।
एक दिनको कुरो हो । उनी काम गर्दा गर्दै एक्कासी बेहोस् भए । उपचार गर्न नजिकै स्वास्थ्य चौकी थिएन । नत गाँउमा स्वास्थ्यकर्मीहरु नै थिए । केहिछिनपछि विस्तारै होसमा आए । तर भित्रि ब्यथाले उनी थला परिसकेछन् । दुई, चार दिनको लगातार बिरामिपछि गाँउमा खुबै धामी झाँक्री पनि हेराईयो । हप्तौसम्म निको नभएपछि गाँउलेहरुले बोकेर जाजरकोट चौरजहारी अस्पताल लगे । अस्पतालमा चेकजाँचपछि डाक्टरहरुले फोक्सोमा निको नहुने क्यान्सर लागेको बताएछन् । तर केही दिन बाँच्नुछ भने जतिसक्दो चाँडो धेरै पैसा जम्मा गरेर ठुलो अस्पतालमा लैजान सुझाब आएछ । अहिलेको जस्तो माबाईल, टेलिफोनको जवाना थिएन । खबर आदान प्रदान गर्न हिँडेरै गाँउ गाँउ जानु पथ्र्यो । अस्पतालबाट दिनभरीको हिँडाईपछि गाँउकै देवर पर्ने एक जना घर पुगे । खबर सुन्न म आतुर थिँए । मन छटपटिएको थियो ।
मैले सोधे : बाबु दाजुलाई कस्तो छ ? उनी केहि बोलेनन् । पानी खाँदै सुई…सुई गर्न थाले । भन्दै थिए….हे भगवान हामी गरीबलाई किन यति धेरै पीडा दिन्छस् । अस्पातमा दाजुलाई भर्ना त गरीयो, तर बाँच्न मुस्किल छ रे, भाउजु । केहिदिन मात्र बचाउनुछ भने चार, पाँच लाख रुपैया जम्मा गर्नुपर्छ रे, नत्र दाजु……। उनले आँशु झार्न थालेपछि घरमा चिच्यावट भयो । पछि केही भएको छैन, भनेर उनले नै सबै परीवारलाई सम्झाएपछि हामी उपचारका लागि पैसा खोज्न भौतारीयौ । त्यो बेलाको दुई, चार लाख जुटाउनु पर्ने । कसैले ऋण पत्याएनन् । बेच्नलाई घर घडेरी पनि थिएन । घरमा पालेका बाख्रा, भैसी सबै बेचेर त्यही चालिस, पचास हजार जति जम्मा भयो । आपत बिपतले त्यो पनि निकै सस्तोमा बेचियो । थोरै थोरै पैसा उपचारमै खर्च भयो ।
अन्तत ः ठुलो पैसा खोज्दा खोज्दै उनले यो धर्ति नै छाडे । विस्तारै सारा संसार अध्यारो लाग्न थाल्यो । आफन्त सबै पराई हुन थाले । श्रिमान बितेको पिडाले पिरोलि रहेको बेला बर्ष दिन नपुग्दै घरपरीवारले उपचारमा खर्च भएको ऋण तिर्न धम्कि दिन थाले । त्यो बेला लाँउ, लाँउ, खाँउ, खाँउ भन्ने उमेरमा श्रिमान गुमाएको पिडाले भोकै निदाउने म कसरी ऋण तिर्न सक्थ्ये । म क्रियापुत्रि भई बसेकि त्यसैमा झन्, गर्भमा सन्तान हुर्किदै छ । मलाई लाग्थ्यो, गर्भको सन्तान छोरो नै जन्मीने छ । अनि ठुलो भएर कालापहाड जानेछ । र धेरै पैसा कमाएर सबैको ऋण तिर्नेछ । त्यो त कल्पना मात्रै रहेछ । अन्तत ः तस्रो सन्तानको रुपमा फेरी छोरी नै जन्मि । घरकाले ऋण माग्न आउनेजतिलाई म सँग पठाउन थाले । संघर्षदेखि हारेपछि मैले पनि मेरो भागमा पर्ने सबै जग्गा बेचेर ऋण तिर्ने निधो गरेँ । सोहि अनुसार गाँउका भलादमीसँग अनुरोध गरेपछि मेरो भागमा पर्ने सबै जग्गा बेचेर ऋण तिर्न लगाईयो । त्यसपछि म सँग केहि रहेन । नत श्रिमान । नत धन सम्पति । गाँउलेहरु पनि विधवा भनेर होच्याउन थालेपछि अन्तमा मैले घर छोड्ने निर्णय गरेकि हुँ ।
अहिले जँहा जे जस्तो अवस्थामा छँु । ठिकै छुँ । यि सबै पुराना याद न हुन् । जति सम्झ्यो त्यति पिडा दिने । अहिले त सम्झीन पनि छाडी सकेँ । तर बाबु आज तिमिले मेरो जिबनको बारेमा धेरै कुरा खोतलेपछि म पनि बहकिँए । कुराकानी गर्दै जाँदा पटक पटक आँशु झार्दै । सुक्कँ, सुक्कँ गर्दै देविका सिंहले यसरी आफ्नो कहानी सुनाईन् । मैले कुराकानीमा जति सोध्दै गँए उनी उत्तिनै विगत सम्झेर भावुक बन्थिईन् । हुन त मैले केही दिन नसकेपनि उनको विगतलाई कोट्याएर थप पिडा भने पक्कै दिँए । उनले आज जे जस्तो कर्म गरेकी छन् । त्यो समाजका लागि उदाहरणीय छ । भाग्यले ठगे पनि कर्मले सँधै जित्ने काम गर्नु देविका दिदि । तपाईको बाँकी जिबन सँधै सुखमय र खुसियालीमै बितोस् । मेरो शुभकामना ।
जुम्ला चन्दननाथ नगरपालिकाको बारकोटेबाडामा जन्मेरे जाजरकोट नायकबाडा बिरे गरी हाल जुम्लामै बहिरा छात्रावासमा सेवा गर्दै आएकि देविका सिंहको यथार्थ जिबनमा आधारीत कथा हो ।
नेपालीरैबार । २०७७ कार्तिक ९, आईतवार