‘अब सबै बेरोजगार नगरवासीलाई काम दिन्छौ’

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षमा सबै बेरोजगार युवा युवतीलाई काम दिने भएको छ । बेरोजगारलाई विभिन्न स्वरोजगारमुलक काम दिएर आत्मनिर्भर बनाउने नगरपालिकाको रणनीति छ ।

‘नगरपालिकाको बजेट तथा स्रोत सिमित भएकाले धेरै काम गर्न सकिदैन । प्रदेश तथा केन्द्रका एक जना सांसदले चलाउन पाउने जतिको बजेट हाम्रो नगरपालिकाले चलाउँछ । ६÷७ करोडले धेरै काम गर्न सकिदैन’ नगरप्रमुख उपेन्द्रबहादुर थापाले भने, ‘प्रदेश तथा संघबाट पनि खासै आवश्यकता अनुसारको न्यायोचित रुपमा बजेट आउँदैन । त्यसैले धेरै काम गर्न नसकेपनि अब हामीसँग उपलब्ध बजेट तथा स्रोत साधानको उचित प्रयोग गर्दै सबै बेरोजगारलाई काम दिने योजनामा छौ ।’

जसका लागि नगरपालिकाको स्रोतले गर्न सकिने भनेको किसानलाई फलफुल तथा अन्नबालीको वीउ, विरुवा वितरण गर्ने, प्राविधिक सहयोग दिने र सार्वजनिक संरचना निर्माणका काममा बेरोजगारलाई काम दिने योजना छन् । एकै पटक धेरैलाई रोजगारी दिन नसकिए पनि केही दिन काम दिएर उनीहरुको आम्दानी बढाउने रणनीति छ । नगरप्रमुख थापाका अनुसार तीन जनाको परिवार छ भने एक जना, पाँच जनाको परिवारमा दुई जना र सात जना भन्दा माथीको परिवार भएको घरका लागि तीन जनालाई काम दिने अवधारणा छ । काम पाउनेहरुले सडक, खानेपानी, सिँचाई लगाएतका सार्वजनिक निर्माणका काम गर्नेछन् ।

गत वर्ष नगरपालिकाले साना ठुला गरी करिब साढे चार सय योजना बनाएको थियो । जसमा कोराना माहामारीका कारण करिब ७० वटा जति योजना सम्पन्न गर्न सकिएन । तर अन्य योजनाहरु पुरा भए । बाँकी रहेका योजनालाई यस वर्ष प्राथमिकता दिइएको थापाले बताए । नगरपालिकाको यस वर्षको बजेटमा कोडिड १९ रोकथाम, भौतिक संरचना निर्माण र आयमुलक स्वरोजगारका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको छ ।

पञ्चपुरी नगरपालिकामा प्रदेश र संघको नजर पर्न नसकेको नगरप्रमुख थापाको भनाइ छ । उनका अनुसार संघले नै हेरेको यहाँको विद्युत र सडकको अवस्था दयनिय छ । बड्डीचौरदेखि पञ्चपुरी जाने सडक अँझै स्तोरोउन्नती सहित पिच हुन सकेको छैन । अब मदन भण्डारी राजमार्गमा परेकाले केही हुन्नकी भन्ने यहाँका स्थानीयको अपेक्षा छ । त्यस्तै तातापानीमा निर्माण हुने विद्युतको काम अलपत्र छ । स्थानीय अध्यारोमुनी छन् । पोल हालेर, तार तानेर छोडिएको छ । कर्णाली चिसापानीबाट तातापानी हुदै अछाम जोड्ने सडक निर्माणको काम अलपत्र छ ।

‘तर नगरपालिकाले यस्ता ठुला योजना हेर्न सक्दैन । हामीले सक्ने काम गरेकै छौ । अहिले सबै वडामा सडक पुगेको छ । गत वर्ष सालकोट बजार क्षेत्रको करिब ६÷७ किलो मिटर सडक पिच गरेका छौ’ नेपाली रैबारसँग उनले थपे, ‘प्रस्ताव लिएर जादाँ संघ र प्रदेशले सुन्दैन । प्रदेशले सँधै कार्यकर्ता पाल्ने मात्रै बजेट बाँड्छ । गत वर्ष संघले दिने भनेको राजश्व बाँडफाँड अन्तर्गत चार करोड बजेट नै आएन । यसले गर्दा कतिपय योजना अधुरै राख्नुपर्ने बाध्यता आयो ।’

उनका अनुसार नौ वटा वडा कार्यालय निर्माण गरिएका छन् । नगरपालिका भवन बन्दैछ । विद्यालय र स्वास्थ्य चौकी लगाएतका भवन निर्माणको काम जारी छन् । तर विकासमा बजेट हुनु मुख्य समस्या हो । ‘हामी धेरै ठुलो आश्वासन बाँड्दैनौ । गर्न सकिने जति मात्रै गरिन्छ’ उनले भने, ‘अब नगरपालिकाले जसरी पनि सबै बेरोजगारलाई काम दिन्छ । यसले गर्दा नागरिकको भोको पेट पनि भरिन्छ । विकास पनि हुन्छ ।’

तपाईको प्रतिक्रिया