पत्रपत्रिका

आठ महिनादेखि बन्द शैक्षिक संस्था लय समाउँदै

सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारी बढ्दै गएपछि झण्डै आठ महिनादेखि बन्द रहेका शैक्षिक संस्थाहरूका शैक्षिक गतिविधि विस्तारै सञ्चालनमा आउन थालेका छन् ।

कतिपय विद्यालय तथा क्याम्पसहरूले भर्चुअल माध्यमबाट पठनपाठन र परीक्षा सञ्चालन गरिरहेका छन् भने कुनै तहको परीक्षा भने भौतिक रूपमै उपस्थित भएर विद्यालयमै लिन थालिएको छ ।

लामो बन्दाबन्दी र त्यसपछि पनि देखिएको बढ्दो संक्रमणले सबै तहका शैक्षिक कार्यतालिका प्रभावित हुँदै आएका थिए । अहिले कक्षा ११ को वार्षिक परीक्षा विद्यालयमै उपस्थित भएर दिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले परिस्थिति हेरेर विद्यालयले नै सञ्चालन गर्ने गरी जिम्मेवारी दिएपछि धमाधम परीक्षा सञ्चालन भइरहेका हुन् ।

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर परीक्षा लिन थालिएको छ । कोरोनाका कारण रोकिएको कक्षा ११ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइरहेको विद्यालयहरूले बताएका छन् । कणर्ाली प्रदेशमा अधिकांश विद्यालयले सम्बन्धित स्थानीय तहको अनुमति तथा समन्वयमा परीक्षा लिन थालेका हुन् । केही विद्यालयहरूमा परीक्षा चलिरहेको छ भने कतिपयले सञ्चालनको तयारी गरेका छन् ।

वीरेन्द्रनगरस्थित अमरज्योति नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले ११ कक्षाको परीक्षा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरू गरिएको जनाए । अमरज्योतिले दुई सिफ्टमा एउटा कक्षामा १३ जनासम्म विद्यार्थी राखेर परीक्षा लिने गरेको छ । साझाविसाैनी दैनिकले समाचार छापेकाे छ ।

राष्ट्रिय परीक्षा बोर्ड कणर्ाली प्रदेश प्रमुख जीतबहादुर शाहले रोकिएका परीक्षा विद्यालयहरूले सञ्चालन गर्न थालेको बताए । कोरोना जोखिमको आँकलन गरेर विद्यालयहरूले स्थानीय तहसँग अनुमति लिँदै परीक्षा चलाइरहेको उनी बताउँछन् ।

मंसिर मध्यतिर सबै पालिकाहरूमा कक्षा ११ को परीक्षा सम्पन्न हुने उनले जानकारी दिए । ‘सम्बन्धित विद्यालयलाई जिम्मेवारी दिएपछि आफैँ व्यवस्थापन गरेर परीक्षा लिइरहेका छन्,’ उनले भने, ‘मंसिरसम्म सबै विद्यालयले परीक्षा सम्पन्न गरिसक्नेछन् ।’

परीक्षाको अनुगमन बोर्डले गरिरहेको छ । विद्यालयहरूलाई आवश्यक परेको खण्डमा प्राविधिक सहयोगसमेत उपलब्ध गराइने परीक्षा बोर्डले जनाएको छ ।

टाढाका विद्यार्थी अनुपस्थित

हाल सञ्चालन भइरहेको ११ कक्षाको परीक्षा दिनबाट कतिपय विद्यार्थी वञ्चित भएका छन् । विद्यालय बन्द भएपछि घर फर्किएका दुर्गमका विद्यार्थी परीक्षामा उपस्थित हुन नसकेका हुन् । पहिलो चरणमा परीक्षामा उपस्थित हुन नसकेका परीक्षार्थीका लागि दोस्रो चरणमा सहभागी गराइने जनाइएको छ ।

घर टाढा भएका विद्यार्थीहरू आउन नसक्ने वातावरण भएकाले दुई चरणमा परीक्षा लिइने भएको हो । ‘छुटेका विद्यार्थीहरूका लागि पछि फेरि परीक्षा हुन्छ,’ राष्ट्रिय परीक्षा बोर्डका प्रदेश प्रमुख शाहले भने ।

केही बाहेकका परीक्षार्थीको उपस्थिति राम्रै रहेको उनी बताउँछन् । अनुगमनका क्रममा समेत परीक्षाहरू मर्यादित र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गरेको पाइएको उनले बताए ।

अमरज्योतिका प्रधानाध्यापक थापाले पाँच सय परीक्षार्थीमा ४२ जना परीक्षामा अनुपस्थित रहेको बताए । जाजरकोट, हुम्ला, डोल्पालगायतका जिल्लाका विद्यार्थीलाई परीक्षामा सहभागी हुन समस्या भएको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा पनि परीक्षा सञ्चालन भइरहेको छ । भेरीगंगामा ९० प्रतिशत विद्यार्थी परीक्षामा उपस्थित रहेको बताइएको छ ।

नगर शिक्षा शाखाका प्रमुख धिरेन्द्रप्रसाद लम्सालले न्यून संख्यामा मात्रै परीक्षार्थी अनुपस्थित रहेको बताए । कर्णालीका कतिपय विद्यालयले केही दिन पछिबाट कक्षा ११ को परीक्षा सञ्चालनको तयारी गरेका छन् ।

कालिकोटको रास्कोट नगरपालिकामा मंसिर ४ गतेदेखि परीक्षा लिइँदै छ । नगर शिक्षा शाखाका प्रमुख प्रभुलाल न्यौपानेले परीक्षाको तालिका प्रकाशित गरिसकिएको जनाए । उनका अनुसार त्यहाँ सबै विद्यार्थीहरूलाई समेट्ने गरी परीक्षा सञ्चालनको तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया