पत्रपत्रिका

सरकारी कार्यालयमा बढ्दाे लापरवाही, खै स्वास्थ्य मापदण्ड !

सुर्खेत । वीरेन्द्रनगर-७ इत्रामका इन्द्रप्रसाद गौतम कामको शिलशिलामा बुधवार दिउँसो मालपोत कार्यालयमा पुगे । सेवा लिनुअघि उनले हात धुन खोजे । कार्यालयको आँगनमा पानी ट्याङ्की थियो । हात धुन ट्याङ्की नजिक पुगेका उनले धारो भाँचिएको देखे । ट्याङ्कीमा पानी थिएन, पानी नै नभएपछि साबुन हुने कुरै भएन ।

सधैंजस्तो बुधवार पनि मालपोत कार्यालयमा सेवाग्राहीको बाक्लो भिड थियो । हान धुने साबुन-पानी, सेनिटाइजर र सेवाग्राहीबीच भौतिक दूरी कायम थिएन ।

सेवा लिन गएका गौतम भिडभन्दा अलगै बस्न खोजे । तर कामका लागि भिडमा मिसिनुको विकल्प थिएन । ‘कोरोनाको यस्तो जोखिम छ । कार्यालयमा थामिनसक्नुको भिडभाड छ । हात धुुने व्यवस्थासमेत रहेनछ,’ उनले भने, ‘यो त लापरवाहीको हद भयो ।’

वीरेन्द्रनगर-११ का भुपेशकुमार विश्वकर्मा पनि मालपोतकोे भीडमा भेटिए । मास्क लगाएर लाइनमा बसेका उनले बाध्यताले जोखिम मोल्नुपरेको सुनाए ।

कामकै लागि आएका कतिपय सेवाग्राहीले मास्कसमेत नलगाइदिँदा कोरोना संक्रमणको जोखिम झनै बढ्ने गरेको उनले बताए । ‘सेवाग्राहीको अत्याधिक चाप हुने कार्यालयभित्र कम्तीमा हात धुने र सेनिटाइजरको व्यवस्था हुनुपथ्र्यो । त्यस्तो गरेको पाइएन । उनी भन्छन्, ‘यो कार्यालयको गैरजिम्मेवारी हो ।’

मालपाेत कार्यालय सुर्खेतमा सेवाग्रीकाे भीड ।

कोरोना संक्रमण देखिन थालेपछि सुरू-सुरूमा कार्यालय र अन्य सार्वजनिक स्थलहरूमा हात धुने व्यवस्था गर्ने लहर नै चलेको थियो । सरकारी तथा गैरसरकारी निकायको सहयोगमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न साबुन पानीको व्यवस्था गरिएको थियो । जुन समयमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको थिएन, उसबेला निकै सजक देखिएका निकायले संक्रमण व्यापक भएका बेला भने बेवास्ता गर्न थालेका हुन् ।

अहिले प्रायः ठाउँमा हात धुने व्यवस्थासमेत छैन । साबुन-पानी भएकै ठाउँमा पनि हात धोएको पाइँदैन । सेवाग्राही तथा हिँड्डूल गर्ने सर्वसाधारणले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेका छन् । लेकवेशी नगरपालिकाका-१० की राजकुमारी खाम्चाले सावधानी नअपनाउँदा कोरोनाको जोखिम बढेको बताइन् ।

कामका लागि कार्यालयहरूमा आउँदा कोरोना लिएर घर जाने जस्तो अवस्था रहेको उनी बताउँछिन् । ‘कुनै ठाउँमा पानी हुँदा साबुुन छैन, साबुुन हुँदा पानी छैन । देखाउनकै लागि मात्रै राखेको जस्तो भयो,’ खाम्चाले भनिन् ।

अन्य कार्यालय तथा सार्वजनिक स्थानहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए/नभएको अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालयमा समेत सेवाग्राहीले हात धुने गरेका छैनन् । त्यहाँ पनि उस्तै भिड छ । मा समाचार छापिएकाे छ ।

भौतिक दूरी कायम गर्ने गरिएको छैन । हात धुने ठाउँहरूमा फोहोर जम्मा भएको छ । पछिल्लो समय कणर्ालीमा कोरोनाको संक्रमण बढ्दो छ । सुर्खेत प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्लामा पनि हो । जिल्लाका अन्य स्थानीय तहभन्दा वीरेन्द्रनगरमा अझ धेरै संक्रमित छन् ।

मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्री संक्रमणबाट बच्न सेवाग्राही नै जिम्मेवार हुनुपर्ने बताउँछिन् । सेवाग्राहीले हात धुने व्यवस्था गरे पनि नधुुने गरेको उनले बताइन् । आफूहरू सेवा प्रवाहमा व्यस्त हुुने भएकाले सेवाग्राहीलाई पटक-पटक भन्न सम्भव नहुने उनको भनाइ छ । ‘सेवाग्राही आफ्नो सुरक्षाप्रति आफैँ सजक बन्नुपर्छ । हामीले अनिवार्य मास्क लगाएर आउन भनेका छौँ,’

उनले भनिन्, ‘हात धुने व्यवस्था थियो तर धारा भाँचिरहने हुुँदा बनाउन भ्याइएको छैन ।’ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि यसअघि मालपोत कार्यालय दुई पटकसम्म बन्द गर्नुपर्ने अवस्था आएको थियो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा भए/नभएको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली बनाएको छ । यद्यपि उक्त टोलीले प्रभावकारी अनुगमन भने गर्ने गरेको पाइँदैन ।

सार्वजनिक स्थानहरूमा राखिएका स्वास्थ्य सावधानीका संरचना तथा सामग्री प्रयोगविहीन हुँदासमेत सुधार नहुनुले प्रशासनको अनुगमन फितलो भएको प्रष्ट देखिन्छ । प्रमुुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अनुुगमन टोलीले निरन्तर अनुगमन गरिरहेको दाबी गरे । उनले चाडपर्वको बेला भएकाले केही समय अनुुगमन नभए पनि अब भने निरन्तरता दिइने जनाए ।

कोरोना संक्रमितको संख्या तीव्र हुँदै गए पनि बजार क्षेत्र तथा सार्वजनिक ठाउँमा स्वास्थ्य सावधानी भने अपनाइएको देखिँदैन ।

बजार, भीडभाड हुने कार्यालय र सार्वजनिक यातायातहरूमा मानिसहरूले असुरक्षित तवरले भीडभाड र आवागमन गरेको पाइन्छ । मास्कको प्रयोग, भौतिक दूरी कायम, नियमित हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सावधानी अपनाउन छोडिएको छ ।

जनस्वास्थ्यका मापदण्डलाई बेवास्ता गरी असुरक्षित भिडभाड गर्दा संक्रमण अझै बढ्ने र स्थिति नियन्त्रण बाहिर जाने जोखिम रहेको चिकित्सकहरूले बताउने गरेका छन् ।

क्वारेन्टाइन हटाएर आइसोलेसन थपिने
कणर्ाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै जिल्लामा बनाइएका क्वारेन्टाइन हटाइने जनाएको छ ।

क्वारेन्टाइन हटाएर आइसोलेसन बढाउने गरी सरकारले निणर्य गरेको हो । बुधवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको जनसंख्या र संक्रमितको चाप हेरेर २५ देखि ५० बेडसम्मको आइसोलेसन बनाउने तयारी गरेको छ ।

त्यसको मापदण्ड तयार गर्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ । प्रदेशका सबै क्वारेन्टाइन हटाएर त्यहाँ भएका सामग्रीको जिम्मा नेपाली सेनाले लिने र आवश्यक परेको खण्डमा उपयोग गर्ने निणर्य गरिएको हो ।

यस्तै, बैठकले कोरोनाका कारण हुने मृत्युदरलाई घटाउन कस्ता संक्रमितलाई अस्पताल ल्याउने, कस्तो साधनमा ल्याउने र कुन-कुन अस्पतालमा लैजाने भनेर योजना बनाउने पनि निणर्य गरेको छ । उक्त योजना बनाउन प्रदेश अस्पताललाई जिम्मेवारी दिइएको छ ।

कोरोना अस्पतालको रूपमा रहेका प्रदेश अस्पताल, कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र रुकुुम-पश्चिमको चौरजहारी अस्पतालको अवस्था अध्ययन गरी आवश्यक कार्य गर्ने निणर्य भएको हो । संक्रमितहरूको उपचार भइरहेका अस्पतालहरूमा मापदण्ड अनुसारको सुविधा छ/छैन भनेर अध्ययन गर्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया