
डोल्पा । हिमाली जिल्ला डोल्पा घुम्न गएका आन्तरिक पर्यटकहरूलाई धमाधम फर्काउन थालिएको छ। कोरोना संक्रमण जोखिम हुन नदिन सतर्कता अपनाउन भन्दै कोरोना परीक्षण रिपोर्टबिना नाकामा पुगेका दर्जनौं पर्यटकहरू फर्काइएको हो।

हजारौं रुपैयाँ खर्च गरेर नाकामा पुगेका आन्तरिक पर्यटकहरू नाकामा प्रहरीले कडाई गरेपछि गन्तव्यमै पुग्न नपाई घर फर्किने गरेका छन्। हालसम्म खदाङ्ग नाकाबाट मात्रै पच्चीस जना आन्तरिक पर्यटकहरूलाई फर्काइएको जिल्ला प्रशासनले जानकारी दिएको समाचार थाहाँ खबरले लेखेको छ।
जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि नाकामा पुगेका कतिपय पर्यटकहरू कोरोना परीक्षण रिपोर्ट बिना नै आउने गरेकाले जिल्ला प्रवेशमा रोक लगाइएको ईलाका प्रहरी चौकी करोपगाडले जनाएको छ।
नेपालका प्रायः जिल्लामा कोराना संक्रमण भएपनि सबैको प्रयासले डोल्पालाई अझैसम्म पनि सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। ुजिल्लाका सीमावर्ती नाकामा कडाई गरेका छौँ, कोरोना परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ, जिल्लाका नागरिकलाई कोरोना परीक्षण रिपोर्टसहित होम क्वारेन्टाइनमा बस्ने शर्तमा मात्रै प्रवेश गर्न दिएका छौं,ु प्रजिअ सुनारले भने।
विभिन्न जिल्लाबाट डोल्पा घुम्नका लागि आएका पर्यटकका लागि ७२ घण्टा अघिको कोरोना परीक्षण रिपोर्टसहित आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न दिन सकिने र सकभर कोरोना कहरमा आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्नुपर्ने भएकाले डोल्पा नआउन आग्रह गरिएको सुनारले बताए।
सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ। गत असोज पहिले साता नै जिल्लामा सरोकारवालाहरूको उपस्थितिमा जिल्ला प्रवेशमा रोक लगाउने निर्णयसहित पटक–पटक सूचना प्रकाशन गरेपनि पर्यटक भने धमाधमआइरहेका छन्।
नाकाबाट आफ्ना मानिस छोड्नका लागि भन्दै सांसद मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूको समेत फोन आउने गरेतापनि प्रक्रिया नपुर्याएका सबैलाई फर्काउने गरिएको प्रजिअ सुनारले जानकारी दिए।
पछिल्लो समयमा नक्कली कोरोना परीक्षण रिपोर्ट ल्याएर डोल्पा पुगेका पाइएकाले ताजा रिपोर्ट माग्नुका साथै र स्वाब दिँदा खेरी काटेको रसिद हेर्ने र अस्पतालमा फोनसमेत गर्ने गरिएको प्रशासनले जनाएको छ।
जिल्लाका फोक्सुन्डो ताल,फोक्सुन्डो झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पा लगायतका पर्यटकीय तथा धार्मिक स्थल अवलोकनका लागि काठमाडौं, पोखरा र झापा लगायतका ठाउँबाट पर्यटकहरू आउने गरेका छन्।

नेपालीरैबार । २०७७ कार्तिक २०, बिहीबार