कालीकोट । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे ५ वर्षमै उप्किएको छ । अधिकांश ठाउँमा कालोपत्रे उप्किएपछि दुर्घटनाको जोखिम बढेको छ भने यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
२०६३ चैत्रमा ट्रयाक खोलिएको राजमार्ग विश्व बैंकको सहयोगमा ०७२ सालमा ओटासिल कालोपत्रे गरिएको थियो । कालीकोटकै बासिन्दा महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएको बेला पनि कर्णाली राजमार्गको स्तरोन्नति हुन नसक्नु दु:खद भएको ‘सुन्दर र समृद्ध कालीकोट’का अभियन्ता भुपेन्द्रजंग शाहीले बताए ।
‘ट्रयाक ओपन भएको डेढ दशक पुग्दा पनि सडकको अवस्था उस्तै छ,’ कांग्रेस महासमिति सदस्यसमेत रहेका शाहीले भने, ‘सडक दुई लेनको बनाउन सके मात्रै पनि कर्णालीको धेरै विकास हुन्थ्यो ।’
पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको बस चालक जीवन केसीले बताए । साघुँरो सडकका कारण गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे । कान्तिपुर दैनिकमा समाचार छ ।
राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनि बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । खाल्डाखुल्डी पुर्ने र पहिरो हटाएर यातायात सुचारु गर्ने बजेट मात्र आउने गरेकाले स्तरोन्नति गर्न नसकिएको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । ‘वर्षामा पहिरो हटाउनै ठिक्क हुन्छ,’ उनले भने, ‘थोरै बजेटले कहाँकहाँ भ्याउनु ?’ उनका अनुसार यस वर्ष राजमार्गको पहिरो हटाउन डोजरलाई २८ दिन लागेको थियो ।
तर राजमार्गमा आएको पनि खर्च गर्न नसकेर फ्रिज पठाउने पुरानै प्रवृत्ति कायमै छ । दैलेखदेखि कालीकोटको दहीखोलासम्म १ सय ३२, दहीखोलादेखि जुम्ला खलंगासम्म १ सय ३६ र ९४ किलोमिटर नाग्मा–गमगढी सडक डिभिजन कार्यालयले हेर्दै आएको छ । कार्यालयमा गत वर्ष आएको नाग्म–गमगढी सडकको ३८ करोड रुपैयाँ फ्रिज भएको थियो ।
सडकमा गतवर्ष ५० करोड रुपैयाँ विनियोजन भएकोमा लकडाउन र ढिलो टेण्डर भएकोले १२ करोड मात्र खर्च भएको थियो । यस वर्ष स्वीकृत भएको ९ करोड बजेट खर्च भइसकेको डिभिजन प्रमुख भण्डारीले बताए । उनका अनुसार नाग्मा–गमगढी खण्डमा ग्राभेल गर्न थप २२ करोड रुपैयाँ आवश्यक छ ।
विश्व बैंकको सहयोगमा सुर्खेतबाट खिड्कीज्यूलासम्म १ सय १८ किलोमिटरमा पहिलो चरणमा र खिड्कीज्यूला–जुम्ला सडकमा दोस्रो चरणमा कालोपत्रे भएको हो । ०७२ को अन्तिममा कालोपत्रे सकिएकोमा अधिकांश ठाउँमा उप्किए पनि वर्षेनि सडक टालटुल पार्ने काम मात्र भइरहेको स्थानीय कमल शर्माले बताए ।
उनका अनुसार सडक मर्मतको नाममा असार लागेपछि केही ठाउँमा टालटुल पारिन्छ । ‘गुणस्तरहीन काम हुँदा पनि सडक जीर्ण बनेको हो,’ उनले भने, ‘केही ठाउँमा त एक वर्ष पनि कालोपत्रे टिकेन ।’
राजमार्गमा वर्षमा मुस्किलले ९ महिना जुम्लासम्म सवारी साधन गुड्छन् । सडक जीर्ण बनेपछि राजमार्गमा दुर्घटनाको जोखिम पनि बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
अहिलेसम्म सुर्खेत–जुम्ला सडकखण्डमा १ सय ६३ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । अप्ठेरो सडकमा सेफ्टीबार र पर्खाल लगाएपछि दुर्घटनामा कमी आउन थालेको कार्यालयका इन्चार्ज हानसिंह भण्डारीले बताए ।
नेपालीरैबार । २०७७ कार्तिक २१, शुक्रबार