३ करोडको भवन काठको घोचो हालेर उद्घाटन, प्रदेश प्रमुख कलौनी उद्घाटनमै छक्क

हुम्ला । तीन करोड लागतमा बनेको भवन काठको घोचो हालेर उद्घाटन गर्नुपर्दा कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी छक्क परे । व्यवस्थापनको कमजोरीले भवन उद्घाटन गर्दा शिलापत्रमा कोठको घोचो हाल्नु परेको हो ।

यो भवन स्वास्थ्य सेवा कार्यालय हुम्लाको हो । ३ करोडको लगनीमा निर्माण सम्पन्न भएको भवन उद्घाटन गर्न हुम्ला पुगेका प्रदेश प्रमुख कलौनीले बुधबार शिलापत्रमा काठको घोचो लगाएरै भएपनि भवन उद्घाटन गरेका हुन् । भवन निर्माण कार्य सम्पन्न भएको जनाईएपनि कार्यालयको गेटमै राखिएको शिलापत्रलाई नैकाठको घोचो दिनुपर्दा भवनको भित्रि संरचना निर्माणप्रति स्थानीयले शंका व्यक्त गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाको नयाँ प्रशासन भवन उद्घाटन गर्न हुम्ला पुगेका कर्णाली प्रदेशका प्रमुख कलौनीले त्यहि काठको घोचोमा अड्काएर राखिएको शिलापत्र उद्घाटन गरेपछि स्थानीयले सरकारी विकास निर्माणप्रति व्यंग्य प्रहार गरेका थिए ।

संघ सरकार मार्फत विनियोजित रकमबाट भवन डिभिजन कार्यालय जुम्लाले उक्त भवन निर्माण गरेको हो । भवन निर्माण गर्दा २ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैँया ८९ पैसा खर्च भएको छ । तर भवन उद्घाटन गर्दा शिलापत्रले नै अव्यवस्थित काम भएको संकेत गरेको छ । शिलापत्र अड्याउन नै काठको टेको दिनुपरेपछि भवन कति टिक्ने हो भन्नेमा स्थानीयले शंका व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया