पश्चिम नेपालको मौसममा गडबडी, वर्षा र चट्याङ पर्ने सम्भावना

सुर्खेत । कर्णालीसहित पश्चिम नेपालको मौसममा बदलाव आएको छ । मध्य रातीदेखि पश्चिमी वायुका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा र चट्याङ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातो घेरामा पश्चिमी वायुका कारण बदली भएको नेपालको क्षेत्र ।

यी प्रदेशका प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

‘देशको उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ,’ कँडेलले भनिन्, ‘आज साँझदेखि आंशिक र भोलीदेखि पूर्ण रुपमा पश्चिम क्षेत्रको मौसममा सुधार हुनेछ ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ०१ गते
दिउँसो – देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती – देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १-२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर ०२ गते 
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ०३ गते
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती – प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया