पीडित मनाउने प्रशासनकाे प्रयास असफल

प्रहरी कार्यालय अगाडी नै बालकलाई ठक्कर, मोटरसाईकल चालक नाटकीयशैलीमा फरार

सुशील खड्का
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा २४ सैं घण्टा प्रहरी तैनाथ हुन्छ । गेटदेखि झण्डै दुई सय मिटरको दुरीमा ट्राफिक प्रहरी कार्यालय समेत छ ।
यो पनि पढ्नुहोस् : मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु, आफन्त आन्दोलित, कर्णाली राजमार्ग बन्द

प्रहरी कार्यालय आसपासमा बेला बेलामा ट्राफिकको छड्के चेकिङ पनि हुन्छ । यति मात्रै हैन्, प्रहरीहरु पनि गेटबाटै ओहोरदोहोर गरिरहेकै हुन्छन् । कार्यालयको गेट अघि नै तीन वर्षीय बालकलाई ठक्कर दिएर नाटकीयशैलीमा मोटरसाईलक फाररहुँदा पनि प्रहरीले कुनै मेसो पाएको छैन् ।

मंगलबार दिउँसो आफन्त छुटाउन वीरेन्द्रनगर नगरपलिका–१ धारापानीका मनोज नेपाली उनकी श्रीमती र तीन वर्षीय छोरासँगै लिएर प्रहरी कार्यालय पुगेका थिए । आमासँगै रहेका उनका तीन वर्षीय छोरा समिर नेपालीलाई हटलाइन सडक खण्डतर्फ कालुञ्चौकतर्फ जाँदै गरेको मोटरसाईकलले ठक्कर दियो ।

गम्भीर घाइते भएका बालकलाई उनका बुवाले बचाउन तत्काल वीरेन्द्रनगरमै प्राथमिक उपचार गरेर नेपालगञ्ज हिडाए । छोरालाई लिएर नेपालगञ्ज हानिएका मनोज हर्रे नपुग्दै उनको छोराले काखैमा प्राण त्यागे ।

‘प्रहरी कार्यालयकाे दक्षिणतर्फ आमासँगै भएको छोरालाई मोटरसाईकलले पानीको वोत्तल उडाएसरी हावामा उडाएर फरार भयो,’ भावविहल अवस्थामा न्यायको खोजीमा हिडेका मनोजले भने, ‘मैले बाटो क्रस गरेर प्रहरी गेटतर्फ गए, म गेटमा नपुग्दै छोरालाई मोटरसाईकलले ठक्कर दिएर हावामा उडिरहेको थियो, बचाउने अनेक प्रयास गरे हुर्कर्दै गरेको छोरो बचाउन सकिन् ।’

मनोजकाअनुसार आमाको हात समातेका छोरा समिरलाई ठक्कर दिएपछि सडक किनारामा आमा पनि बजारिएकी थिइन् ।

‘सबैको ध्यान बच्चातर्फ भएकाले ठक्कर दिने मोटरसाईकलतिर कसैको ध्यान पुगेन, छोरालाई बचाउने कसरतमै लागे,’ मनोजले भने, ‘प्रहरी कार्यालय अगाडीको घटना भएकाले प्रहरीले तत्कालै ठक्कर दिने मोटरसाईकल र चालक पक्राउ गरिसक्यो होला लाग्यो, न छोराको ज्यान बच्यो न अपराधी नै पत्ता लाग्यो ।’

प्रहरी कार्यालयमै नागरिक सुरक्षित नभएको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन् । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले भने फरार मोटरसाईकल सीसीटिभी क्यामरामा रेकर्ड भइसकेकाले खोजी व्यापक बनाएको बताए ।

प्रहरी गेटमै दुर्घटना गराएर फरार सवारीकाे सुइकाे छैन्, अन्य सडकमा गुड्ने सवारीबाट नागरिक सुरक्षित छन् कसरी भन्ने सवालमा एसपी भट्टले भने, ‘हो चुनौती थपिदियो तर दुर्घटना कहाँ, कसरी र कुन ठाउँ हुन्छ पत्तो हुँदैन् । तर ठक्कर दिने मोटरसाईकल र चालकलाई केही दिनमा नियन्त्रणमा लिन्छौं ।’

आफन्तद्वारा प्रदर्शन
प्रहरीले आफ्नै कार्यालय अगाडी घटना भएपनि तत्कालै फरार मोटरसाईकल र चालकको खोजीमा जुट्यो । आफन्तले बाँगेशीमलमा आन्दोलन शुरु गर्ने सुइको पाएपछि प्रहरीले बुधबार विहान १० बजेसम्म फरार मोटरसाईकल र चालक पत्ता लगाउने आश्वासन दियो । दिउँसो १२ बज्दा पनि प्रहरीले कुनै पत्तो नै पाएन् ।

त्यसपछि आफन्तले बाँगेशीमल र सिद्धार्थ होटल नजिकै सडकमा टायर बालेर प्रदर्शन गरे । पीडित परिवारले हत्यारालाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै वीरेन्द्रनगर बजार क्षेत्रमा समेत प्रदर्शन गरे ।

पीडित मनाउने प्रशासनकाे प्रयास असफल
आफन्तहरु सडकमा निस्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको छलफल असफल भएको छ ।

आफन्तहरुको माग ठक्कर दिने मोटरसाईकल र चालकलाई तत्काल पक्राउ गरेर कानूनी दायरामा ल्याउन माग राखेका छन् ।

प्रशासनले खोजी भएकाले तत्काल सडक संघर्ष नगरिदिन अपिल गरेको छ । आफन्तले भने मोटरसाईकल चालक पक्राउ नपर्दासम्म सहमति नगर्ने अडान लिएपछि वार्ता निष्कर्षविहिन भएको छ ।

तपाईको प्रतिक्रिया