सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजारमा पार्किङ अभावले सडक नै जाम हुने गरेको छ । सडक किनारामै पार्किङ गर्दा दोहोरो सवारी सञ्चालनमा झन सकस भइरहेको छ ।
तर बजार क्षेत्रको अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न वीरेन्द्रनगर नगरपालिकाले तीन ठाउँलाई पार्किङ तोक्न खाली जग्गा छनोट गरेको छ ।
मंगलगढी चौक नजिकै अस्थायी बसपार्क सञ्चालन भएको क्षेत्र, डाडा स्कुल नजिकैको खाली क्षेत्र र घण्टाघरदेखि दक्षिणतर्फको ठाउँलाई पार्किङ क्षेत्र बनाउने गृहकार्यमा लागेको नगरपालिकाका मेयर देवकुमार सुवेदीले जानकारी दिए ।
‘नगरपालिकाको स्वामित्वमा जग्गा नहुनु र अनुमति लिनै समय लागेकाले पार्किङ व्यवस्थापनमा ढिलाई भएको हो,’ मेयर सुवेदीले भने, ‘सुर्खेत उपत्यका विकास समिति नगरपालिका मातहतमा आएपछि चाडै नै तीन ठाउँमा पार्किङ व्यवस्थापन गर्ने छौं ।’
सवारी चाप बढेसँगै बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दो छ । पार्किङ क्षेत्रको टुंगो लागेपछि बजारको अस्तव्यस्त पार्किङ व्यवस्थित हुने अपेक्षा मेयर सुवेदीको छ ।
सिटी बसपार्कमा हाल सञ्चालन रहेको बसपार्क स्थान्तरण भएपछि पार्किङ प्रक्रियालाई दु्रतगतिमा अघि बढाउने सुवेदीले जानकारी दिए ।
नेपालीरैबार । २०७७ मंसिर १०, बुधबार