लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

सुर्खेत । लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि शुरु भएको छ । लैङ्गीक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको एक्यवद्धता भन्ने मुल नाराका साथ यस वर्षको लैङ्गीक हिंसा विरुद्धको अभियान शुरु गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको आयोजनामा लैङ्गीक हिंसा विरुद्धमा एक्यवद्धता जनाउँदै पहिलो दिन हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ ।

घरपरिवार, समाज, कार्यालय जस्ता ठाउँमा हुने क्रियाकलाप र राखिने सोच हिजोको दिनमा जे भएपनि अब सबैजनाले सकरात्मक सोच राख्न जरुरी रहेको नगरपालिकाको प्रमुख देवकुमार सुवेखीले जानकारी दिए ।

उनले आफु स्वंयम परिवर्तन भएर यस अभियानमा साथ दिन सके हिंसाका घटनामा कमि आउने बताए । नगरपालिकालाई लैङ्गीक हिंसामुक्त नगर निर्माण गर्ने योजना रहेकाले यस अभियानमा साथ दिन नगर उपप्रमुख मोहनमाया ढकालले आग्रह गरिन् ।

‘समग्र कर्णाली प्रदेशलाई नै लैङ्गीक हिंसामुक्त बनाउन राजधानी वीरेन्द्रनगरबाटै शुरु गर्न जरुरी छ,’ ढकालले भनिन्, ‘अभियानको शुरुवात भएको पहिलो दिन आज हस्ताक्षर संकलन र बाँकी दिनमा विभिन्न कार्यक्रम गरेर अघि बढ्ने तयारीमा छौं ।’

२० औं शताब्दीसम्म महिला हिंसा भनेर लिने गरिएकोमा अब २१ औं शताब्दीमा यसलाई लैङ्गीक हिंसा परिभाषित गरिएको ढकालको भनाई छ ।

हिंसा समाजले नै सृजना गरेकोले यसको अन्त्य पनि सम्भव भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । उनले अभियानको १६ दिनमात्रै नभई वर्षका पुरा दिन नै यहिँ नारासँग रहेर काम गर्न गरिने बताए ।

तपाईको प्रतिक्रिया