सुर्खेत । स्थानीय तहमा संचालित अधुरा आयोजना निर्माण कार्य सम्पन्न गर्न कर्णाली प्रदेश सरकारले रकम हस्तान्त्रण गर्ने भएको छ । प्रदेश सरकारद्धारा स्थानीय तहमा सञ्चालित आयोजना निमार्ण कार्य सम्पन्न गर्न रकम दिइने भएको हो ।
कर्णाली प्रदेश सरकार, मन्त्री परिषदको यही मंसिर ११ गते बसेको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले विभिन्न शिर्षकमा नौ वटा निर्णय गरेको छ । प्रदेश सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयले समपुरक र विशेष अनुदानबाट स्थानीय तहहरुमा संचालित अधुरा विविध आयोजनाहरुका लागि मन्त्रालयले अर्थ विविध शिर्षकबाट जम्मा २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहहरुलाई हस्तान्तरण गर्ने निर्णयमा उल्लेख छ ।
यस्तै सोही बैठकमा आन्तरीक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले ल्याएको सुरक्षा मापदण्ड, २०७७ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेशको सुरक्षा रणनीति २०७७ स्वीकृति प्रदान गर्ने र शान्ति अध्ययन तथा घाईते अपाङ्ग पुर्नस्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भएको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालयले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दैलेख जिल्ला नारायण नगरपालिका-८ का सर्वराज खड्कालाइ नियुक्त गर्ने, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रुपमा सुर्खेत जिल्ला लाटीकोइलीका झकबहादुर मल्ललाइ नियुक्त गर्ने, सल्यान जिल्ला कुमाख गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्वीकृतिका लागि पठाउँने र दैलेख जिल्ला भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्वीकृतिका लागि पठाउने निणर्य भएको छ ।
नेपालीरैबार । २०७७ मंसिर १२, शुक्रबार